वीरगञ्ज ९ कात्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजाआराधना गरी बलि दिएर मनाइँदै छ ।
महानवमीका दिनमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको विशेष पूजाआराधना, दुर्गा सप्तशती, श्रीमदेवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने आज आ-आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।