सांकेतिक तस्वीर
सिरहा । गोलबजार नगरपालिका–१३, दुर्गापुरका २० वर्षीय कृष्णकुमार महराको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कृष्णकुमारको शव सोमबार सुखीपुर नगरपालिका–१० ललसैया दुर्गा मन्दिर नजिकैको गागन खोला बगरमा फेला परेको थियो। उनको शव बालुवाले पुरीएको अवस्थामा भेटिएको थियो, जसका कारण हत्या भएको आशंका गरिएको छ।
सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी बीरेन्द्रकुमार पासवानका अनुसार सुखीपुर नगरपालिका–७ का १९ वर्षीय सिकिन्दर मुखियालाई हत्या आरोपमा पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार कृष्णकुमार र सिकिन्दरबीच विवाद रहेको सूचनाका आधारमा सिकिन्दरलाई पक्राउ गरिएको हो।
प्रहरी स्रोतका अनुसार कृष्णकुमारको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ, जसले हत्या भएको सम्भावनालाई थप पुष्टि गर्दछ। शवको अवस्था र घट्नास्थलको प्रकृति हेर्दा यो हत्या भएको संकेत पाइन्छ। शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइने डीएसपी पासवानले जानकारी दिए।
कृष्णकुमार २७ असोजको साँझ दुर्गा मेला हेर्न गएका थिए, त्यसपछि उनी हराइरहेका थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार सोही साँझ सिकिन्दरले उनलाई लखेटेर कुटपिट गरेका थिए।