×

सर्लाही। सर्लाहीको मलंगवामा एम्बुलेन्समार्फत विस्फोटक सामग्री र अवैध किराना सामान तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको सोनवर्षाबाट नेपालतर्फ ल्याइँदै गरेको पटका र अवैध किराना सामानसहित बिहीबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, मलंगवा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलंगवा र प्रस्तावित सुरक्षा गुल्म मलंगवाको संयुक्त टोलीले को १ च ५८९६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको थियो। एम्बुलेन्समा नेपाल परिवार नियोजन संघ, सर्लाही शाखा लेखिएको थियो।

पक्राउ परेका व्यक्तिहरूमा हरिवन नगरपालिका-११ का ३६ वर्षीय एम्बुलेन्स चालक विक्रम आचार्य, ३६ वर्षीय पटका मालिक मनोज रजक, र ४३ वर्षीय किराना सामानका मालिक छोटेलाल दास रहेका छन्।

सशस्त्र प्रहरीले एम्बुलेन्सको सिटमुनी लुकाइएका १४ प्रकारका पटका र ३४ प्रकारका किराना सामान बरामद गरेको जनाएको छ। चाडपर्व नजिकिएसँगै पटका र अन्य अवैध सामग्रीको तस्करीमा वृद्धि भएको भन्दै प्रहरी सतर्क रहेको छ। यसअघि पनि सर्लाहीमा करिब १८ लाख बराबरको पटका बरामद गरिएको थियो।

प्रहरीले पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान अघि बढाएको छ।

Back to top