×

सर्लाही। सर्लाहीको बरहथवा बजारमा गएराति भएको भीषण आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। बरहथवा नगरपालिका-७ मा पर्ने किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा आगलागी हुँदा स्थानीय व्यवसायीको ठूलो मात्रामा नोक्सानी भएको हो।

आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार, र सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाले प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब तीन करोड बराबरको क्षति भएको जानकारी दिए। नरेश साहको किराना पसलमा चाडपर्वका लागि राखिएका धेरै सामग्री जलेर नष्ट भएका कारण सो पसलमा बढी क्षति पुगेको बताइएको छ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो। शुक्रबार राति ११ः३० बजेतिर सुरु भएको आगलागी राति २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो। आगो निभाउन स्थानीय वासिन्दा, सुरक्षाकर्मी, र हरिवन नगरपालिकाको दमकलको सहयोग लिइएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

अहिलेसम्म प्राप्त विवरण अनुसार, यस घटनाले बरहथवाका व्यवसायीहरूलाई गम्भीर आर्थिक क्षति पुर्‍याएको छ।

Back to top