वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएकी टिकटकर किरण साहले सुनियोजित ढङ्गले मन्त्रीलाई बदनाम गराउन अडियो लिक गरेको खुलासा भएको छ ।
विभिन्न स्रोतबाट प्राप्त अडियो क्लिपहरूमा साहले एक अज्ञात व्यक्तिसँग मन्त्री यादवसँगको फोन संवादको रेकर्डिङ पठाउँदै सामाजिक सञ्जालमा भाइरल बनाएर उनलाई बदनाम गराउने योजना बनाएको पाइएको हो ।
प्राप्त अडिओमा साहले एक व्यक्तिलाई भनेकी छन्, “सबै अडियो सुनेर भन्नुस्, राख्न मिल्छ भने राखिदिनुस् । मलाई कुनै अप्ठ्यारो छैन, कोहीसँग डर पनि छैन । तर यसमा धम्की वाला संवाद छ ।” उनले मन्त्रीसँगको संवादमा आवेशमा आएर धम्की दिएको र त्यसलाई सामाजिक सञ्जालमा राख्न मिल्ने/नमिल्ने बारे सोधेको स्पष्ट हुन्छ ।
अर्को अडिओमा उनले स्वयम् मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको स्वीकार गरेकी छन् । “मैले साफै ज्यानले मार्दिन्छु भनेर बोलेको छु, त्यो त सोझै धम्की भयो, त्यसमा कुनै अप्ठ्यारो त हुँदैन?” उनले प्रश्न गरेको सुनिन्छ ।
साहले वीरगञ्जका मेयर राजेशमान सिंह र मन्त्री यादवको नाम जोडेर दुवैलाई बदनाम गराउने उद्देश्यले अडियो रेकर्ड गरेको र लिक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
शुक्रवार सामाजिक सञ्जालमा भाइरल भएको अडिओमा साहले मन्त्री यादवलाई भोजपुरी भाषामा “मन्त्रीज्यू ज्यानले मार्दिन्छु, डर लाग्दैन” भन्दै धम्की दिएको सुनिन्छ । तर, लिक भएको अडिओमा धम्कीको अंश काटिएको थियो । पछि प्रहरी स्रोतबाट प्राप्त पूर्ण अडिओमा साहको धम्की स्पष्ट भएको हो ।
साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र त्यसको कारण मन्त्री यादव र मेयर सिंहद्वारा जडान गरिएको बोरिङको पानी जिम्मेवार रहेको भन्दै सामाजिक सञ्जालमा भिडियो बनाएर भाइरल बनाएकी थिइन् । उनले हैजाका कारण धेरैको मृत्यु भएको झुटो दाबी गरेको प्रहरीले जनाएको छ ।
घटनापछि पर्सा प्रहरीले शनिवार साहलाई हिरासतमा लिएको थियो । मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले बताए । आइतबार प्रहरीले साहविरुद्ध साइबर क्राइम, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाउने आरोपमा तीन वटा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद लिएको थियो । मङ्गलवार म्याद सकिएपछि थप तीन दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ ।
“सोधपुछका क्रममा किरण साहले आवेशमा आएर मन्त्री यादवलाई धम्की दिएको स्वीकार गरेकी छन्,” डिएसपी लम्सालले भने । प्रहरीले साहको सुनियोजित योजनाको थप अनुसन्धान गरिरहेको छ ।