×

एजेन्सी । रुसको युक्रेनको राजधानी किएभस्थित सरकारी कार्यालयहरूमा ड्रोन वर्षा गरेको छ ।

रुसी सेनाले शनिवार रातीदेखि आइतबार बिहानसम्ममा आठ सय बढी ड्रोन र मिसाइल हमला गरेको हो । झन्डै साढे सात सय ड्रोन र अधिकांश मिसाइल युक्रेनी प्रतिरक्षा प्रणालीले ध्वस्त बनाए पनि तीन दर्जन बढी ड्रोन निशानामा खस्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनलगायतका सरकारी भवनहरूमा क्षति पुगेको छ ।

रुसले पहिलो पटक युक्रेनका अधिकांश मन्त्रालयहरू रहेको भवनलाई निशाना बनाएको युक्रेनी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले बताएकी छन् । पहिलो पटक शत्रुको आक्रमणबाट सरकारी भवनमा क्षति पुगेको र भवनका छाना र माथिल्लो तलाहरूमा विस्फोट भएको उनको भनाइ छ ।

यस अघिसम्म रुसले युक्रेनको हवाई सुरक्षा प्रणालीका कारण किएभका सरकारी भवनहरूलाई निशाना बनाउन सकेको थिएन । रुसी आक्रमणबाट कम्तीमा एक शिशुसहित चार जनाको मृत्यु भएको पनि जनाइएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जापोरजिया, क्रिभी री, ओडेसा, समी र चेर्निहिभ क्षेत्रमा पनि ड्रोन र मिसाइल आक्रमण भएको बताउनु भएको छ । 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा हवाई रक्षा प्रणालीलाई अझै मजबुत बनाउन सहयोगी देशहरूसँग अपिलसमेत गर्नुभएको छ ।

Back to top