×

वीरगञ्ज । बलिउडका ‘किङ’ शाहरुख खानले नयाँ कीर्तिमान रचेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार शाहरुख विश्वकै सबैभन्दा धनी अभिनेता बनेका छन् ।

शाहरुखको कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर (लगभग १२ हजार ४ सय ९० करोड भारतीय रुपैयाँ) पुगेको छ । प्रकाशित सूचीका अनुसार उनले हलिउडका आर्नोल्ड श्वार्जनेगर, टम क्रूज, साथै पप स्टार टेलर स्विफ्ट र सेलेना गोमेजजस्ता विश्वप्रसिद्ध सेलिब्रेटीहरूलाई समेत उछिनेका छन् ।

इकोनोमिक्स टाइम्सका अनुसार शाहरुख खान १२ हजार ४ सय ९० करोड सम्पत्तिसहित भारतका सर्वाधिक धनी सेलिब्रेटी बनेका छन् । दोस्रो स्थानमा अभिनेत्री जुही चावला र उनको परिवार ७ हजार ७ सय ९० करोड सम्पत्तिसहित छन् भने ऋतिक रोशन २ हजार १ सय ६० करोडसहित तेस्रो स्थानमा छन् ।

गत वर्षको सूचीमा अमिताभ बच्चन चौथो स्थानमा थिए । यद्यपि, यस वर्ष करण जौहरले १ हजार ८ सय ८० करोड सम्पत्तिसहित उनलाई पछि पार्दै चौथो स्थान हासिल गरेका छन् । अमिताभको सम्पत्ति १ हजार ६ सय ३० करोड रहेको छ ।

हुरुन इन्डिया रिच लिस्ट २०२४ मा शाहरुखको सम्पत्ति ७ हजार ३ सय करोड थियो । केवल एक वर्षको अवधिमा उनको सम्पत्तिमा ५ हजार करोडको वृद्धि भई १२ हजार ४ सय ९० करोड पुगेको छ । वृद्धिले उनको व्यापारिक कुशलता र विविध आयस्रोतको बलियो आधारलाई प्रस्ट पार्छ ।

शाहरुखको कमाइको मुख्य स्रोत फिल्मको पारिश्रमिक मात्र नभएर उनको प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्ट पनि हो । उनको सम्पत्तिमा उनको प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्टले गरेको छ । साथै, विभिन्न ब्रान्डको समर्थन (एन्डोर्समेन्ट) बाट पनि उनले करोडौँ कमाउँछन् ।

उनकी पत्नी गौरी खान इन्टेरियर डिजाइन कम्पनी डी डेकोरकी संस्थापक हुन् । कम्पनीले उनको व्यापारिक साम्राज्यलाई थप बलियो बनाएको छ । यस्तै, उनका छोरा आर्यन खानले लक्जरी कपडा ब्रान्ड डिवयोल सञ्चालन गर्छन् र हालै निर्देशनमा पनि पाइला चालेका छन् ।

फोर्ब्सका अनुसार यसअघि विश्वकै धनी अभिनेताको उपाधि आर्नोल्ड श्वार्जनेगरको नाममा थियो । उनको सम्पत्ति १.२ अर्ब डलर थियो । तर, शाहरुखले १.४ अर्ब डलरको सम्पत्तिसहित उनलाई पछाडि पार्दै नयाँ इतिहास रचेका छन् । शाहरुखको उपलब्धिले उनको अभिनय प्रतिभा मात्र नभई व्यापारिक दूरदर्शिता र विश्वव्यापी प्रभावलाई पनि उजागर गरेको छ ।

Back to top