नयाँ दिल्ली । २०२२ मा आएको ब्लकबष्टर फिल्म कान्ताराको प्रिक्वेल हो कान्ताराः च्याप्टर १ । ऋषभ शेट्टी निर्देशित यो फिल्मले मात्र तीन दिनमा २०० करोड भारु भन्दा बढी कमाई गरिसकेको छ ।
प्रारम्भिक कमाइलाई हेर्दा फिल्म चाँडै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ । यस्तो भयो भने फिल्मले कन्नड फिल्म केजीएफको रेकर्ड पनि तोड्नेछ । लगभग १२५ करोड भारुको बजेटमा बनेको कान्ताराः च्याप्टर १ ले पहिलो सप्ताहान्तमै २३५ करोड भारु कमाई गरिसकेको छ ।
फिल्मको ओपनिङ कलेक्सन ८८ करोड भारु थियो । दोस्रो दिनको कलेक्सन ६५ करोड भारु थियो भने तेस्रो दिन फिल्मको कमाई ८२ करोड भारु थियो ।
रिलिजको चौथो दिनमा नै कान्ताराः च्याप्टर १ कन्नड सिनेमाको चौथो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । तर यो अझै पनि केजीएफ २ र कान्ताराको कमाइभन्दा धेरै टाढा छ । बक्स अफिसको तथ्याङ्कको आधारमा, यो फिल्मले चाँडै नै कन्नड स्टार यशको फिल्म केजीएफ–१ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । जसको कूल कमाई २५० करोड भारु थियो ।
कान्तारा : च्याप्टर १ २०२२ मा आएको फिल्म कान्ताराको प्रिक्वेल हो । कान्तारा केजीएफ–२ पछि कन्नड सिनेमाको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म हो ।
१६ करोड भारुमा बनेको कान्ताराले रेकर्ड ४५० करोड भारुको कीर्तिमानी कमाई गरेको थियो । केजीएफ२ को कुल कलेक्सन १ हजार २५० करोड भारु रहेको छ । कान्ताराः च्याप्टर १ ले यी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन त्यो चाहिँ हेर्न बाँकी नै छ ।