वीरगञ्ज । राष्ट्रिय एकता दलले बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पार्टी अध्यक्ष विनय यादवमाथि आक्रमणको प्रयास भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता दिलीप पण्डितले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै जितपुर–सिमरा उपमहानगरपालिका – १९ इनरवा बजारमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्ति मार्फत पण्डितले चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा केही व्यक्तिहरूको समूहले बाटो अवरोध गरी विवाद सिर्जना गरेको आरोप लगाएका छन् । “हिन्दु राष्ट्र” सम्बन्धी राजनीतिक धारणा राखेकै कारण योजनाबद्ध रूपमा डरत्रास फैलाउने प्रयास भएको पार्टीको दाबी छ ।
घटनास्थलमा स्थानीय नागरिकहरू उपस्थित भई सम्भावित अप्रिय घटना हुन नदिएको पार्टीले जनाएको छ । लोकतान्त्रिक प्रक्रियामा हिंसा र धम्की अस्वीकार्य हुने उल्लेख गर्दै उनीहरूलाई धन्यवादसमेत व्यक्त गरिएको छ ।
राष्ट्रिय एकता दलले उक्त घटनालाई स्वच्छ निर्वाचन वातावरणमाथिको आक्रमणको रूपमा व्याख्या गर्दै सम्बन्धित निकायसमक्ष चार बुँदे माग अघि सारेको छ । जसमा निष्पक्ष छानबिन, संलग्नमाथि कानुनी कारबाही, उम्मेदवारको सुरक्षा सुनिश्चितता तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने राज्यको ग्यारेन्टी समावेश छन् ।
पार्टीले यस्ता घटनाले आफ्नो राजनीतिक अभियान नरोकिने स्पष्ट पार्दै शान्तिपूर्ण र संवैधानिक माध्यमबाट जनतासामु धारणा राखिरहने जनाएको छ । चुनाव नजिकिँदै गर्दा बारा क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको र सुरक्षा व्यवस्थामाथि चासो बढेको स्थानीयहरूले बताएका छन् ।