×

मुम्बई । बलिउड अभिनेत्री आयशा खानले सामाजिक सञ्जालमा आफूले भोग्दै आएको चरम मानसिक र यौन उत्पीडनका बारेमा स्तब्धकारी खुलासा गरेकी छिन्। हालै आयोजित मोजो स्टोरीको एक सम्मेलनमा बोल्दै उनले आफूलाई लगभग हरेक दिन बलात्कारको धम्की आउने र शरीरलाई लिएर अश्लील टिप्पणीहरू हुने गरेको बताएकी हुन्। 

यो समस्या यति सामान्य भइसकेको छ कि अहिले आफ्नो फोन खोलेरै यस्ता सयौँ धम्कीपूर्ण सन्देशहरू देखाउन सक्ने उनले दाबी गरिन्। आफ्नो पछिल्लो फिल्म धुरन्धरको गीत सुटिङका क्रममा महिनावारी हुँदा भोगेको सास्तीबारे सार्वजनिक रूपमा कुरा गरेपछि उनी झनै ट्रोलिङको सिकार बनेकी थिइन्। 

एउटा प्राकृतिक शारीरिक प्रक्रियाबारे कुरा गर्दा त्यसलाई राष्ट्रिय मजाक बनाइएकोमा उनले दुःख व्यक्त गरिन्। उनले भनिन्, ‘मैले सामान्य टप लगाउँदा होस् वा स्कर्ट, मानिसहरूलाई जहिले पनि समस्या हुन्छ। कुनै पनि फोटो पोस्ट गर्नुअघि १० पटक सोच्नुपर्ने अवस्था छ किनकि मानिसहरूले त्यसलाई यौनिक दृष्टिकोणले मात्र हेर्छन्।’

आयशाले अनलाइनमा आउने धम्कीहरू कतिसम्म डरलाग्दो हुन्छन् भन्ने उदाहरण दिँदै कतिपयले आफूसँग शक्ति भएको भए जे पनि गर्न सक्ने भन्दै हिंसात्मक सन्देश पठाउने गरेको बताइन्। झनै डरलाग्दो कुरा त के छ भने, यस्ता धम्की दिने मानिसहरू हाम्रै समाजमा वरिपरि बसिरहेका हुन्छन्। 

एकपटक फिल्मको सुटिङका क्रममा आफ्नै सेटमा काम गर्ने स्पट बोयले उनलाई लामो समयदेखि अश्लील भ्वाइस नोट र सन्देशहरू पठाइरहेको फेला परेको थियो। उनले तुरुन्तै आफ्ना बुबा र निर्माण टोलीलाई जानकारी दिएपछि ती व्यक्तिमाथि कारबाही गरिएको थियो।

कुनै समय आफूमाथि बलात्कारको प्रयास समेत भएको खुलासा गर्दै आयशाले यस्ता घटना र अनलाइन धम्कीले आफूलाई भावनात्मक रूपमा विक्षिप्त बनाउने गरेको बताइन्। सार्वजनिक जीवनमा रहेका लगभग हरेक महिलाले यस्तै किसिमको ट्रोलिङ र सुरक्षा चुनौती सामना गरिरहनु परेको भए पनि यसविरुद्ध प्रभावकारी कारबाही हुन नसक्नु चिन्ताको विषय भएको उनको ठम्याइ छ। 

उनले कुनै पनि नागरिक डरको छायामा बाँच्न नहुने भन्दै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेकी छिन्।

Back to top