वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता हित संरक्षण, बजार अनुगमन तथा गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नाराका साथ आइतबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम उद्योग विभाग वीरगञ्ज, पर्साको आयोजनामा तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय को सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने उद्योग विभागका महानिर्देशक सुशील कुमार साह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अन्तरक्रियामा सहभागीहरूले उपभोक्ताको अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए। वक्ताहरूले उपभोक्तालाई सुरक्षित, गुणस्तरीय तथा उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन राज्य, व्यवसायी र उपभोक्ता स्वयं सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण रोक्न नियमित र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताएका थिए। त्यसैगरी उपभोक्ताले पनि वस्तु खरिद गर्दा उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्य सूची तथा गुणस्तरसम्बन्धी जानकारी जाँच गरेर मात्र सामान खरिद गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमनको अवस्था, उपभोक्ताले पाउने सेवा–सुविधा तथा गुनासो व्यवस्थापन प्रणालीबारे पनि जानकारी गराइएको थियो। साथै उपभोक्ताको हित संरक्षणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
हरेक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ताको अधिकार, सुरक्षा तथा हित संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ।
कार्यक्रमको सञ्चालन सुनिल चौरसिया, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त कार्यालय प्रमुखले गरेका थिए।