मुम्बई । विवादास्पद 'टटीरी' गीतका कारण बलिउड गायक तथा र्यापर बादशाहको समस्या थप बढ्दै गएको छ।
हरियाणा बाल अधिकार संरक्षण आयोगले यस गीतमा विद्यालय जाने बालिकाहरूलाई गलत तरिकाले चित्रण गरेको र विद्यार्थीहरूलाई पढाइ छोड्न उक्साएको भन्दै बादशाह र गीतका निर्देशकहरूलाई नोटिस जारी गरेको हो। आयोगले सात दिनभित्र उपस्थित भएर आफ्नो पक्ष राख्न निर्देशन दिएको छ।
यसअघि मार्च १३ मा हरियाणा राज्य महिला आयोगको अगाडि उपस्थित नभएपछि बादशाहको राहदानी जफत गरी पक्राउ गर्न आदेश दिइएको थियो। महिला आयोगले पानीपतका प्रहरी उपरीक्षकलाई यस विषयमा एफआईआर दर्ता गर्न समेत निर्देशन दिइसकेको छ। बाल अधिकार आयोगको मुख्य आपत्ति गीतको भिडियोमा स्कुले छात्राको पोसाकको दुरुपयोग गरिएको, विद्यार्थीले स्कुल ब्याग फालेर पढाइप्रति उदासिनता देखाएको र गुडिरहेको बसमा जोखिमपूर्ण स्टन्ट गरेको दृश्यहरूमा रहेको छ।
मार्च १ मा सार्वजनिक भएको यो गीतमा प्रयोग गरिएका शब्द र दृश्यलाई लिएर विभिन्न सामाजिक संघसंस्थाहरूले कडा विरोध जनाउँदै आएका छन्। विवाद बढ्दै गएपछि पञ्चकुला प्रहरीले यसअघि नै युट्युबबाट यो गीत हटाउन लगाएको थियो। हालसम्म यस प्रकरणमा जीन्दमा दुई र पञ्चकुलामा एउटा गरी तीनवटा एफआईआर दर्ता भइसकेका छन्। आयोगले बादशाहसँगै भिडियो निर्देशक माही सन्धु र जोबन सन्धु, प्रोडक्सन हाउस र सीईओ आलाप गोशरलाई पनि नोटिस पठाएको छ।
आयोगको तर्क अनुसार बादशाह जस्ता चर्चित कलाकारका करोडौँ फलोअर्स रहेका र त्यसमा ठुलो संख्यामा विद्यालय जाने बालबालिका भएकाले यस्ता सामग्रीले समाज र छात्राहरूको आचरणमा नकारात्मक असर पार्छ। मनोरञ्जनको नाममा बालबालिकाको भविष्य र अनुशासनसँग खेलबाड गर्न नपाइने आयोगले प्रष्ट पारेको छ।
साथै, गीतको छायांकनका क्रममा जीन्द रोडवेजको बस र सरकारी विद्यालयको दृश्य प्रयोग गर्दा आधिकारिक अनुमति समेत नलिएको आरोप छ। महिलालाई ‘अब्जेक्टिफाई’ गरेको र अश्लील शब्द प्रयोग गरेको विषयमा महिला आयोगले यसअघि नै बादशाहलाई दोषी ठहर्याउँदै कारबाही प्रक्रिया अघि बढाएको थियो।
यता, उनलाई लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आएको बताइएको छ। यो धम्की सामाजिक सञ्जालमा सेयर गरिएको पोस्ट मार्फत आएको हो ।