वीरगञ्ज । भारतको उत्तर प्रदेशस्थित रायबरेली जिल्ला अदालतले समाजवादी पार्टीका पूर्व विधायक कमलेश पाठकलाई ग्याङ्गस्टर एक्ट अन्तर्गत ६ वर्षको जेल सजाय सुनाउँदै १ लाख रुपैयाँ जरिवाना तिर्ने आदेश दिएको छ ।
सन् २०२० मार्च १५ मा रायबरेलीको नारायणपुरस्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा भएको चर्चित डबल मर्डर प्रकरणमा जिल्ला अदालतले उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री मुलायम सिंह यादवको सरकारमा मन्त्री समेत रहेका पाठकलाई सजाय सुनाएको हो ।
घटनामा अधिवक्ता मञ्जुल चौबे र उनकी बहिनी सुधा चौबेको गोली हानी हत्या गरिएको थियो । जग्गा सम्बन्धी विवादका कारण चौबे भाइबहिनीको हत्या गरिएको थियो । घटनामा पाठकलाई मुख्य आरोपी बनाइएको थियो ।
विशेष एमपी/एमएलए अदालतले कमलेश पाठकलाई ग्याङ् लिडर मान्दै सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कमलेशसँगै अदालतले उनका दाजुभाइ सन्तोष पाठक र रामु पाठकसहित अन्य ८ आरोपीहरूलाई पनि ५–५ वर्षको जेल र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । घटनामा भने कमलेशका गनर अवनीश प्रताप निर्दोष साबित भएका छन् ।
अदालतले सजाय सुनाएसँगै प्रहरीले पाठकसहित अन्य दोषीहरूलाई जेल पठाएको छ । कमलेश पाठक सन् २०२० देखि नै यो मुद्दामा जेलमा थिए । उनीमाथि कुल ३५ भन्दा बढी आपराधिक मुद्दा दर्ता रहेको बताइन्छ । क्षेत्रमा ‘मिनी सीएम’ भनेर चिनिने कमलेश पाठकविरुद्ध आएको अदालतले फैसलाले स्थानीय स्तरमा चर्चा पाएको छ ।