×

वीरगञ्ज । भारतका विदेश मन्त्री एस जयशंकरले इरान र अमेरिकाबिच बढ्दो तनावका क्रममा पाकिस्तानले देखाएको कूटनीतिक सक्रियतालाई तीव्र आलोचना गर्दै भारत कुनै पनि अन्तर्राष्ट्रिय विवादमा ‘दलाल’ वा मध्यस्थकर्ताको भूमिका निर्वाह नगर्ने स्पष्ट पारेका छन् ।

बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मध्यपूर्वको वर्तमान सङ्कट र इरान–अमेरिका तनावबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा जयशंकरले यस्तो धारणा राखेका हुन् । उनले पाकिस्तानले विगतदेखि नै द्वन्द्वमा आफूलाई घुसाउने प्रयास गर्दै आएको बताए ।

सन् १९८१ मा पाकिस्तानले अमेरिका र इरानबिच मध्यस्थताको नाममा आफ्नो बाटो बनाउने प्रयास गरेको उदाहरण दिँदै जयशंकरले भारतले यस्ता भूमिका खेल्ने पक्षमा नरहेको प्रस्ट्याए ।

बैठकमा जयशंकरले प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा युद्धले सबैलाई हानि पुर्‍याउने र यसको द्रुत समाधान आवश्यक रहेको कुरामा जोड दिएको पनि जानकारी दिए ।

रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको बैठकमा विपक्षी सांसदहरूले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको निधनमा भारतको मौनता, खाडी क्षेत्रबाट तेल आपूर्तिको सुरक्षा र भारतीय नागरिकहरूको सुरक्षाबारे प्रश्न उठाएका थिए ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले जवाफ दिँदै भारतसँग पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको र आपूर्तिका लागि ४१ देशसँग समन्वय भइरहेको बताए । उनले ऊर्जा सुरक्षा सुनिश्चित गर्न सरकारले पर्याप्त कदम चालेको दाबी गरे ।

सरकारी पक्षले इरानी नेताको निधनमा शोक व्यक्त गर्न ढिलाइ भएको विपक्षी आरोपलाई समेत खण्डन गरेको छ । सरकारले खाडी क्षेत्रमा रहेका भारतीय नागरिकहरूको सुरक्षा र देशको ऊर्जा आवश्यकता पूरा गर्नु नै आफ्नो प्राथमिकता रहेको बताएको छ ।

कङ्ग्रेस आइ लगायतका विपक्षी दलहरूले सरकारको जवाफ ‘असन्तोष जनक’ रहेको भन्दै संसद्मा यस विषयमा विस्तृत बहस हुनुपर्ने माग गरेका छन् । उनीहरूले पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहँदा भारत ‘मौन दर्शक’ मात्र बसेको आरोप लगाएका छन् ।

संसदीय मामिला मन्त्री किरेन रिजिजुले भने चुनौतीपूर्ण परिस्थितिमा सबै राजनीतिक दलहरूले एकताबद्ध हुनुपर्नेमा जोड दिँदै विपक्षीलाई परिपक्वता देखाउन आग्रह गरेका छन् ।

Back to top