वीरगञ्ज । १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो कारोबारको जालो उजागर गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले ६ चैतमा नरेश रेउलेलाई पक्राउ गरेपछि सुरु भएको अनुसन्धानबाट यो नेटवर्कसम्म पुगेको हो। रेउलेले क्रिप्टो कारोबार गर्न चाहने व्यक्तिहरूलाई जोड्ने र कमिसन लिने काम गर्दै आएको खुलेको छ।
उनकै बयानका आधारमा प्रहरीले दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा भारतीय नागरिक प्रवेश अली भन्ने एसके इकबाललाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार इकबालले ‘बिनान्स’ मार्फत क्रिप्टो कारोबार गर्दै आएका थिए र उनको खातामा करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ। उनी विगत २८ वर्षदेखि नेपालमा बस्दै आएका थिए र सामाखुसीमा सेवा कम्पनी सञ्चालन गर्दै आएका थिए।
प्रहरीले पक्राउ परेका तीनै जनाले मिलेर अवैध रूपमा क्रिप्टो कारोबार गरेको निष्कर्ष निकालेको छ। यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता पनि रहेको आशंका गरिएको छ।
उनीहरूविरुद्ध हुण्डी तथा अभौतिक मुद्रा सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालत मा मुद्दा दर्ता भइसकेको छ। हाल अदालतमा बयान भइरहेको छ भने आगामी चरणमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान वा धरौटीमा रिहा हुनेबारे निर्णय हुने छ।
प्रहरीका अनुसार उक्त मुद्दामा १ अर्ब ३६ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ।