×

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा “जयमंगलापुर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता” विधिवत् रूपमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र ले गरेका हुन्।

उद्घाटन समारोहमा युवा नेता प्रदीप पटेल लगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले खेलकुदले समाजमा एकता, अनुशासन र सकारात्मक ऊर्जा फैलाउने बताउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले गाउँमै रहेका युवाहरूलाई खेलकुदमार्फत अघि बढाउने प्रयास सराहनीय रहेको उल्लेख गर्दै यसले लुकेका प्रतिभाहरूलाई उजागर गर्न मद्दत पुग्ने बताए।

उद्घाटन खेलमा बुढगाउँ गाउँको टिम र लाइन पर्सा गाउँको टिमबीच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ। प्रतियोगिताको विशेषता अनुसार सहभागी प्रत्येक टिममा एउटै गाउँका खेलाडी मात्र समावेश गरिने नियम राखिएको छ, जसले स्थानीय स्तरमै खेलाडी विकास, गाउँ–गाउँबीच स्वस्थ प्रतिस्पर्धा र आपसी भाइचारा मजबुत बनाउने अपेक्षा गरिएको छ।

Back to top