×

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । बैठक वैशाख १७ गते सम्पन्न भएको हो  ।

जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकले सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत विद्यासदन माविलाई सदस्यता दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । यस निर्णयसँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयहरूको सङ्ख्या ६१ पुगेको छ ।

प्याब्सन वीरगञ्ज र जिल्ला स्तरीय सदस्यता अनुगमन तथा सिफारिस उपसमितिको सिफारिसका आधारमा सातौँ पूर्ण बैठकले विद्यालयलाई सदस्यता प्रदान गरिएको जनाइएको छ । बैठकपछि जानकारी दिँदै जिल्ला सचिव अशोक सङ्ग्रौलाले सङ्गठन विस्तारलाई तीव्रता दिँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिइएको बताए ।

उनका अनुसार नयाँ विद्यालयहरूलाई समेट्दै लैजानुले प्याब्सनको संस्थागत सुदृढीकरणका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, सदस्य विद्यालयहरूबिच सहकार्य, अनुभव आदानप्रदान र नीतिगत एकरूपता कायम गर्न समेत यस्तो विस्तार महत्त्वपूर्ण रहने उनले उल्लेख गरे ।

प्याब्सन पर्साले आगामी दिनमा पनि सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै जिल्लाभरका निजी विद्यालयहरूलाई सङ्गठित गर्ने लक्ष्य लिएको जनाएको छ ।

Back to top