वीरगञ्ज । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल आउने अन्य देशका पर्यटकलाई ठुलो सहजीकरण गर्दै विदेशी सवारीसाधनको अस्थायी इजाजत (टीआईभी) अनलाइनबाटै भर्न र राजस्व तिर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विकास गरेको यो डिजिटल प्रणालीको मङ्गलवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका छन् । नयाँ व्यवस्थासँगै अब नेपाल भित्रिने पर्यटकले सवारीसाधनको विवरण, भन्सार राजस्व र अस्थायी इजाजत सबै अनलाइनबाटै घरबाटै गर्न सक्नेछन् ।
यसअघि भन्सार नाकामा पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने झन्झट थियो । यात्रा अवधि सकिएमा नवीकरणका लागि फेरि नाकामा पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता पनि थियो ।
अर्थमन्त्री डा. वाग्लेले प्रणाली सञ्चालन गर्दै सरकारले अघि सारेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनको यो एउटा महत्त्वपूर्ण कदम भएको बताए । “पर्यटकलाई कुनै सास्ती नहोस्, सरकारी सेवा छिटो, छरितो र पारदर्शी होस् भन्ने हाम्रो चाहना छ । अब सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती पूर्ण रूपमा हट्ने छ,” उनले भने ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले अब नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले प्रयोग गर्ने सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिने जानकारी दिए । “प्रक्रिया पारदर्शी र प्रभावकारी बन्नेछ । राजस्व पनि अनलाइन वा बैंक काउन्टरबाट तिर्न सकिन्छ । अनलाइन भुक्तानी गरेपछि इमेलमा प्राप्त हुने क्युआर कोड देखाएर नै सवारीसाधन नेपाल छिर्न सक्छ,” उनले भने ।
विभागका अनुसार यात्रा अवधि सकिएमा पनि पर्यटकले नेपालमै रहेको आफ्नो ठेगानाबाट अनलाइन मार्फत नै अवधि थप गर्न सक्नेछन् । नेपालभरिका सडकमा यात्रा गर्दा सोही क्युआर कोड देखाउनुपर्ने व्यवस्था छ ।
कसरी प्रयोग गर्ने ?
भन्सार विभागको आधिकारिक वेबसाइटमा गएर ‘हाम्रा सेवाहरू’ शीर्षकमा क्लिक गर्नुपर्छ । त्यहाँ ‘टीआईभी’ (अस्थायी सवारी आयात) मोड्युलमा विवरण भर्न सकिन्छ । सबै विवरण अद्यावधिक गरेपछि क्युआर कोड प्राप्त हुन्छ । शुल्क अनलाइन तिरेपछि सवारीसाधन नेपाल भित्रिन सक्छ । यो प्रणाली नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NSW) मार्फत विकास गरिएको हो ।
तत्कालका लागि यो सेवा भारत र बङ्गलादेशबाट आउने पर्यटकका लागि मुख्य रूपमा लागू गरिएको विभागले जनाएको छ । चिनियाँ नाकाबाट आउने सवारीसाधनको हकमा पनि यो व्यवस्था रहने तर हाल त्यस्ता पर्यटकको सङ्ख्या न्यून रहेको विभागको भनाइ छ ।