वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यशोदा फुड्स प्रालि द्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तर मापदण्डअनुसार नभेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बिहीबार जारी गरेको सूचनामा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार उत्पादन नभएको पाइएकाले सम्बन्धित ब्याचका सम्पूर्ण चाउचाउ बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा परीक्षण गर्दा ‘करेन्ट’ चाउचाउमा रहेको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) अनुसार उक्त ब्याच नम्बरका सम्पूर्ण खाद्य पदार्थ तत्काल बजारबाट हटाउन तथा बिक्री–वितरण नगर्न/नगराउन विभागले निर्देशन दिएको छ ।
उक्त कम्पनीका सञ्चालक कमलकिशोर मालपानी यसअघि पनि चर्चामा आएका थिए । उनीमाथि प्रधानमन्त्री वालेन्द्र शाह को चुनावी प्रचारमा प्रयोग गर्न ७ करोड रुपैयाँ मूल्य बराबरको ल्याण्डरोभर गाडी उपलब्ध गराएको आरोप लागेको थियो । सो विषय विवादमा आएपछि उक्त गाडी फिर्ता गरिएको बताइएको थियो ।