×

गाजापट्टीमा अड्किएका दर्जनौँ प्यालेस्टिनी महिलाहरूले विदेशमा रहेका आफ्ना पतिहरूसँग पुनर्मिलनका लागि सीमा नाकामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न माग गर्दै प्रदर्शन गरेका छन्।

मध्य गाजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा भेला भएका प्रदर्शनकारीहरूले सीमा नाका खोल, पतिसँग बस्न र शान्तिपूर्ण जीवन बिताउन पाउनु हाम्रो अधिकार हो तथा गाजाका महिलाहरूको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी २८ वर्षीया गदिर अल–अहमदले आफू र आफ्ना छोराछोरी स्विडेनमा रहेका पतिसँग जान चाहेको बताइन्। 

त्यस्तै, अर्की प्रदर्शनकारी रेहाम ताहाले युद्ध सुरू हुनुभन्दा केही हप्ताअघि मात्र बिरामी आमालाई भेट्न गाजा आएको र नाका बन्द भएपछि आफू त्यहीँ फसेको बताइन्। 

सोही क्रममा गाजाको स्वास्थ्य मन्त्रालयले हजारौँ बिरामीहरू वैदेशिक उपचारका लागि अनुमति पर्खिरहेको जनाएको छ। मन्त्रालयले हाल अनुमति पाउने बिरामीको संख्या अत्यन्तै न्युन रहेको र यसले गाजाको स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको उल्लेख गरेको छ। मन्त्रालयले गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा विदेशका विशिष्टीकृत अस्पतालहरूमा पठाउने प्रक्रिया छिटो र सहज बनाउन सम्बन्धित निकायहरूसँग अपिल समेत गरेको छ। 

आधिकारिक तथ्याङ्क अनुसार, गत फेब्रुअरी २ मा रफाह सीमा नाका पुनः सञ्चालनमा आएदेखि हालसम्म करिव २ हजार ८ सय यात्रीहरूले मात्र आवतजावत गरेका छन्। युद्ध सुरू हुनुअघि यस नाकाबाट दैनिक सयौँ प्यालेस्टिनीहरूले यात्रा गर्ने गर्दथे। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, सन् २०२३ को अगस्टमा मात्रै इजरायली र इजिप्टियाली अधिकारीहरूले कुल ७८ हजार भन्दा बढी व्यक्तिलाई गाजाबाट बाहिर जाने अनुमति दिएका थिए।

Back to top