×

वीरगञ्ज । काठमाडौँमा जारी १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा मधेस प्रदेशले दुई स्वर्णसहित ६ पदक जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कभर्डहलमा शुक्रवार सम्पन्न खेलमा मधेसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेको हो ।

एथलेटिक्स अन्य खेलमा निराशाजनक नतिजा निकालेको मधेसका लागि तेक्वान्दोले भने राहत दिएको छ । मधेसको साख जोगाउने क्रममा बाराका समीर नेपाली र धनुषाकी खुसी ठाकुरले स्वर्ण जिते। समीरले ४५ केजी तथा खुसीले ५२ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

यसैगरी ४६ केजी महिलामा बाराकी रिगल बोहोरा तथा ५९ केजी पुरुषमा बाराकै दिलबहादुर तामाङले रजत जितेका छन् । यस्तै महोत्तरीकी क्याट्रिना फुयाँलले ४९ केजी र सिरहाका अनिस यादवले ५५ केजीमा कास्य जितेका छन् ।

तेक्वान्दो खेलतर्फ विभिन्न तौल समूहमा मधेस प्रदेशबाट ६ पुरुष तथा ६ महिला गरी १२ जना खेलाडी छनौट भएका थिए । जसमध्ये १० जना क्योरुगी र दुई जना पुम्सेतर्फका थिए । तेक्वान्दो खेलको अन्तिम नतिजा अनुसार मधेस प्रदेश पदक तालिकामा तेस्रो भएको छ। पाँच स्वर्ण, तीन रजत र तीन कास्यसहित बागमती प्रथम हुँदा दुई स्वर्ण, दुई रजत र तीन कास्यसहित सुदूरपश्चिम दोस्रो भएको छ ।

यसैगरी एक स्वर्ण, तीन रजत र पाँच कास्यसहित लुम्बिनी चौथो भएको छ । पाँचौँ स्थानमा रहेको कोशीले एक स्वर्ण, एक रजत र चार कास्य जितेको छ भने समान पदक जितेको गण्डकी छैटौँ स्थानमा छ । तीन कास्य मात्रै जितेको कर्णाली भने सातौँ स्थानमा सीमित भएको छ ।

Back to top