वीरगञ्ज । भारतको महावाणिज्य दूतावास, वीरगञ्जले १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा पर्सा, चितवन, मकवानपुर, धनुषालगायत विभिन्न जिल्लामा विशेष योग कार्यक्रम आयोजना गर्ने जनाएको छ। यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ जुन २१ मा मनाइँदै छ।
महावाणिज्य दूतावासका अनुसार यस वर्षको विषयले जीवनको प्रत्येक चरणमा योगको महत्त्वलाई उजागर गर्दै शारीरिक लचकता, सन्तुलन, शक्ति तथा मानसिक शान्तिको प्रवर्द्धनमा जोड दिएको छ। नियमित योग अभ्यासले तनाव, चिन्ता तथा जीवनशैलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्यासँग जुध्न सहयोग गर्ने र सबै उमेर समूहका मानिसलाई स्वस्थ, सक्रिय तथा आत्मनिर्भर जीवनयापन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
दूतावासले स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा जुन १३ देखि २१ सम्म विभिन्न स्थानमा योग कार्यक्रम आयोजना गर्ने जनाएको छ। तालिका अनुसार जुन १३ मा पर्साको सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत पचगावाँ, जुन १६ मा चितवनको नारायणी नदी तट, जुन १७ मा मकवानपुरको हेटौंडास्थित रोयल पार्टी प्यालेस, जुन १८ मा पर्साको पोखरियास्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालय, जुन १९ मा धनुषाको जानकी मन्दिर परिसर, जुन २० मा गढीमाई विवाह मण्डप तथा जुन २१ मा वीरगञ्जको शंकराचार्य गेटमा योग कार्यक्रम आयोजना गरिनेछ।
दूतावासका अनुसार पचगावाँ, पोखरिया र गढीमाईका कार्यक्रम सम्बन्धित स्थानीय पालिकाको सक्रिय सहकार्यमा आयोजना गरिनेछन् भने जनकपुरधामको योग उत्सव जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा मन्दिर परिसरमै सञ्चालन हुनेछ।
अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम भने जुन २१ गते बिहान ५:३० बजे वीरगञ्जस्थित शंकराचार्य गेटमा आयोजना गरिनेछ। यस वर्ष वीरगञ्जको कार्यक्रम महावाणिज्य दूतावासले आयोजना गर्ने सबैभन्दा ठूलो योग समारोह हुने अपेक्षा गरिएको छ।
दूतावासले सम्पूर्ण कार्यक्रम निःशुल्क तथा सबैका लागि खुला रहेको जानकारी दिँदै सहभागीहरूलाई निर्धारित समयभन्दा अगावै कार्यक्रम स्थलमा उपस्थित हुन अनुरोध गरेको छ।