वीरगञ्ज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि बढाउन तथा यसको संरक्षण र प्रवर्द्धन गर्न विद्यालय, परिवार र समाज सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। वीरगञ्जमा आयोजित “नेपाली भाषा र साहित्य” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी साहित्यकार, शिक्षक तथा शिक्षाविद्हरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘साहित्यको विकास, विस्तार र समाजसेवामा समर्पित’ भन्ने नारासहित साहित्यिक चौतारी नेपाल मधेश प्रदेश समितिको आयोजनामा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा सम्पन्न कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालय र कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूले आफ्नो शिक्षण अनुभव तथा व्यवहारिक चुनौतीबारे खुलेर धारणा राखेका थिए।
सहभागी शिक्षकहरूले मधेश क्षेत्रको प्रमुख मातृभाषा भोजपुरी भएकाले कक्षाकोठामा नेपाली भाषाको शुद्ध उच्चारण सिकाउन, भाषिक शुद्धता कायम गर्न तथा शब्दार्थ प्रभावकारी रूपमा बुझाउन विभिन्न कठिनाइहरू सामना गर्नुपरेको अनुभव सुनाए। उनीहरूले भाषा र साहित्यको विकास विद्यालयको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै घरपरिवारमा नेपाली भाषाको प्रयोग र समाजमा साहित्यिक गतिविधिको विस्तार हुनुपर्ने आवश्यकता औँल्याए।
समितिका वरिष्ठ उपाध्यक्ष प्रमोद पाण्डे हेरम्बको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश प्रसाद लाठ, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, ठाकुरराम बहुमुखी क्याम्पसका नेपाली विषय विभागीय प्रमुख ईन्द्रप्रसाद भट्टराई, वीरगञ्ज पब्लिक कलेजका प्रिन्सिपल डा. बासुदेव कर्ण, भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साह तथा नारायणी वाङ्गमय प्रतिष्ठानका सचिव महेशचन्द्र गौतम लगायतले नेपाली भाषाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावित उपायबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका क्रममा संस्थाकी उपाध्यक्ष सुशिला भण्डारी, कार्यसमिति सदस्य अजमत अली अन्सारी, उमेश अवस्थी आदर्श र अस्मिता पटेल लगायतले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए।
साहित्यिक चौतारी नेपाल मधेश प्रदेशकी सहसचिव प्रिया मिश्रले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सूर्य शुभचिन्तकले गरेका थिए। कार्यक्रममा नेपाली भाषा र साहित्यको संरक्षण तथा नयाँ पुस्तामा यसको आकर्षण बढाउन नियमित साहित्यिक गतिविधि, सिर्जनात्मक अभ्यास र विद्यालय–समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले विशेष जोड दिएका थिए।