×

वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङले सरकारले गलत कार्यमा संलग्न हुने कसैलाई पनि नछाड्ने स्पष्ट पार्दै कानूनको कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले अपराध नियन्त्रणदेखि नागरिक सेवासम्मका विषयमा सुरक्षा निकायलाई कडाइका साथ काम गर्न निर्देशन दिइसकेको जानकारी दिए।

उनले गलत कार्यमा संलग्न व्यक्ति आफ्नै पार्टीका भए पनि छुट नदिइने स्पष्ट पार्दै कानूनको नजरमा सबै बराबर रहेको बताए।

“सेवा नै हाम्रो धर्म हो। अपराध नियन्त्रणदेखि लिएर नागरिकको सेवामा खटिने विषयमा सुरक्षा निकायहरूलाई निर्मम रूपमा प्रस्तुत हुन हिजै निर्देशन दिइसकेको छु। गलत गर्ने आफ्नो वा अर्काको पार्टी भनेर हामी हेर्दैनौं, गलतलाई गलत नै भन्छौं,” गृहमन्त्री गुरुङले भने।

गुरुङले आफू गृहमन्त्रीको जिम्मेवारीमा आएपछि सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी समेत गरे। उनले सुरक्षा संयन्त्रलाई स्वतन्त्र, निष्पक्ष र जिम्मेवार ढंगले काम गर्न वातावरण बनाइएको बताए।

यसैबीच उनले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिए। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

“विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी गरिसकेको छ। हामीले डिजिटल प्रणालीको समेत विकास गरेका छौं,” उनले भने।

गृहमन्त्रीका अनुसार बाढी, पहिरोलगायत प्राकृतिक विपद्का बेला अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण तथा स्रोतसाधन कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको छ। यसबाट विपद्का समयमा उद्धार तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले आगामी मनसुनलाई मध्यनजर गर्दै विपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको समेत गृहमन्त्री गुरुङले बताए।

Back to top