×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । कोसी र मधेस प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा पछिल्ला दिनमा उल्लेख्य वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार दुवै प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि व्यापक रूपमा पानी परेको छैन ।

मौसमविद् रोजन लामिछानेका अनुसार दुई दिनअघि सम्म केही स्थानमा वर्षा भए पनि त्यसयता गतिविधि कमजोर बनेको छ । “मधेस र कोसी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा अझै केही दिन वर्षाको सम्भावना न्यून छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सङ्केत भए पनि व्यापक वर्षा देखिँदैन,” उनले बताए । यद्यपि, दुई दिन वर्षा नहुँदैमा ‘सुक्खा’ घोषणा गर्न नमिल्ने उनको तर्क छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन सुरु भइसके पनि सबै ठाउँमा एकै पटक पानी पर्छ भन्ने होइन । वर्षा मनसुनको न्यूनचापीय रेखाको अवस्थाले निर्धारण गर्ने बताउँदै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्, “अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक र पूर्वी नेपालबाट टाढा रहेकाले पश्चिममा राम्रो वर्षा हुँदा पूर्वी तराई सुक्खा देखिएको हो ।” उनका अनुसार यो अवस्था कम्तीमा यो हप्ताभरि कायम रहने सम्भावना छ ।

विभागका पछिल्ला पूर्वानुमान अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मध्यमदेखि भारी वर्षाको सम्भावना छ । उल्लेखित सबै क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी–नालामा पानीको सतह बढ्न सक्ने, विशेषगरी पहाडी र हिमाली भेगमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

उता, पूर्वी तराईका किसानहरू धान रोपाइँको मुख्य समयमा पर्याप्त पानी नपर्दा चिन्तित देखिएका छन् । कृषि विज्ञहरूका अनुसार रोपाइँका लागि निरन्तर वा पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले लामो समय खडेरी भए उत्पादनमा असर पर्न सक्छ । यद्यपि, मौसम प्रणालीमा परिवर्तन आएर न्यूनचापीय रेखा पूर्वतर्फ सर्ने बित्तिकै वर्षा बढ्न सक्ने भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने नरहेको विज्ञहरू बताउँछन् ।

विभागले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, स्थानीय प्रशासनका निर्देशन पालना गर्न तथा सम्भावित विपद्बाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Back to top