वीरगञ्ज । वीरगञ्ज एलाइड युथ सोसाइटीको पाँचौँ वार्षिकोत्सव शनिबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला होटलमा भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक, युवा तथा सामुदायिक क्षेत्रमा पाँच वर्षदेखि निरन्तर सक्रिय रहँदै आएको संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मान गर्नुका साथै नयाँ कार्यसमिति समेत गठन गरेको छ।
संस्थापक अध्यक्ष ओमकुमार झाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति प्रहरी उपरीक्षक (एसपी) मोहन बस्नेत सहभागी हुनुभएको थियो। कार्यक्रम मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाले विगत पाँच वर्षदेखि समाजसेवा, युवा सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासका क्षेत्रमा सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराइएको थियो। सहभागीहरूले समाज रूपान्तरणमा युवाको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यस अवसरमा पत्रकारिता क्षेत्रमार्फत सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व निर्वाहमा उल्लेखनीय योगदान पुर्याएका सञ्चारकर्मीहरूलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो। सम्मानित हुने सञ्चारकर्मीहरूमा अभिलाष गुप्ता, आनन्द पटेल, राकेश साह, श्याम सर्राफ, सन्तोष कुशवाहा र अर्जुन चौधरीलगायत रहेका थिए।
कार्यक्रमकै अवसरमा प्रद्युमन सर्राफको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एलाइड युथ सोसाइटीले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका थिए।
कार्यक्रमको समापन गर्दै संस्थापक अध्यक्ष ओमकुमार झाले संस्थाको पाँच वर्षे सफल यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजहितमा केन्द्रित र प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।