×

वीरगञ्ज । बारा जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि छिमेकी पर्सा जिल्लालाई पनि उच्च जोखिमको सूचीमा राख्दै पशु सेवा विभागले विशेष सतर्कता अपनाएको छ। संक्रमण थप फैलिन नदिन विभागले संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ।

पशु सेवा विभागले बर्डफ्लु संक्रमित पन्छी वा पन्छीजन्य उत्पादन बजारमा बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले बर्डफ्लु मानव स्वास्थ्यसँग समेत सम्बन्धित संवेदनशील विषय भएकाले आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्नुभयो। उहाँले संक्रमण पुष्टि भएका पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो।

डा. उपाध्यायका अनुसार गत चैत महिनादेखि देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ। भाइरसले समय–समयमा स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विभागले उच्च सतर्कता अपनाउँदै प्रभावित क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म प्रभावित ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि संक्रमित पन्छी तथा तिनका उत्पादन तत्काल नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको विभागको भनाइ छ।

डा. उपाध्यायले बर्डफ्लुविरुद्ध हालसम्म प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि हुनेबित्तिकै संक्रमित पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विभागले प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन तथा मुचुल्का संकलन गर्ने कार्य भइरहेको जनाएको छ। सोही आधारमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलनको कामसमेत अघि बढाइएको विभागले जानकारी दिएको छ।

बर्डफ्लु संक्रमण बारामा देखिएपछि पर्सा जिल्लामा समेत निगरानी बढाइएको छ। पशुपन्छी व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन, शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा संक्रमित पन्छी वा तिनका उत्पादनको खरिद–बिक्री नगर्न विभागले आग्रह गरेको छ।

Back to top