×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा आएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार नारायणी अस्पतालमा सुलभ फार्मेसी सेवा सुरु गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ८५ (घ) अनुसार सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयनका क्रममा नारायणी अस्पतालमा यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पताल परिसरबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट बिरामीको उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने विश्वास गरिएको छ।

सरकारले स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी विस्तार अभियानलाई अघि बढाएको जनाएको छ।

यसैबीच, नारायणी अस्पतालमा अत्याधुनिक क्याथ ल्याब (Cath Lab) मेसिन जडान गर्ने कार्य पनि सुरु भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। क्याथ ल्याब सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी परीक्षण तथा उपचार सेवा अझ प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा आधुनिक स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार विकास र सेवा विस्तारका कार्यक्रमलाई निरन्तर अघि बढाइने जनाएको छ।

Back to top