वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–७ रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ रहेको सार्वजनिक सडक करिब दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित बनेको छ। निजी बंगला निर्माणका क्रममा सार्वजनिक सडक र नाला बन्द गरिएपछि आवागमनसँगै पानी निकासमा समेत समस्या उत्पन्न भएको भन्दै स्थानीयले तत्काल समाधान गर्न महानगरपालिकासँग माग गरेका छन्।
स्थानीयका अनुसार नेपाल तथा भारतसहित विभिन्न मुलुकमा व्यापार गर्दै आएका व्यवसायी निरञ्जन चौधरीले आफ्नै बंगला निर्माणका क्रममा सार्वजनिक बाटो अवरुद्ध गराएका हुन्। निर्माण कार्यका लागि प्रयोग गरिएको डोजरले सडकसँगै रहेको नाला समेत भत्काएपछि उक्त क्षेत्रमा आवागमन पूर्ण रूपमा प्रभावित भएको स्थानीयको भनाइ छ। त्यसयता सडक पुनः सञ्चालनमा ल्याउने विषयमा कुनै प्रभावकारी पहल नभएको उनीहरूको गुनासो छ।
घटनापछि स्थानीयको विरोध बढेपछि वीरगञ्ज महानगरपालिकाको नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडकलाई पूर्ववत् अवस्थामा पुनःनिर्माण गर्ने लिखित सहमति भएको थियो। सम्भावित दुर्घटना रोक्न अस्थायी रूपमा सडक बन्द गरिएको जनाइए पनि सहमतिको अवधि सकिएको झण्डै एक महिना बितिसक्दा समेत सडक सञ्चालनमा आउन नसकेको स्थानीयको आरोप छ।
स्थानीयले सहमति कार्यान्वयन गराउने दायित्व महानगरपालिकाकै भए पनि सम्बन्धित निकायले उदासीनता देखाएको बताएका छन्। वडा नं. ७ का जनप्रतिनिधि, महानगरपालिकाका केही कर्मचारी तथा प्रभावशाली व्यक्तिहरूको संरक्षणका कारण सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमणलाई मौन समर्थन गरिएको आरोप उनीहरूले लगाएका छन्। केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको समेत माग गरेका छन्।
सडक मात्र होइन, नालाको प्राकृतिक निकास बन्द हुँदा समस्या थप जटिल बनेको स्थानीयको भनाइ छ। सामान्य वर्षा हुँदा समेत पानी निकास हुन नसकी टोल डुबानमा पर्न थालेको उनीहरूको दाबी छ। शुक्रबार राति परेको सामान्य वर्षापछि वर्षाको पानी घर–घरमा पस्न थालेपछि स्थानीयको आक्रोश थप चुलिएको थियो। उनीहरूका अनुसार समयमै नाला सञ्चालन गरिएको भए यस्तो अवस्था सिर्जना हुने थिएन।
डुबानको समस्यापछि शनिबार बिहान आक्रोशित स्थानीय निर्माणस्थल पुगेका थिए। निर्माणधनीसँग प्रत्यक्ष संवाद गर्न खोज्दा सम्पर्क हुन नसकेपछि स्थानीयले वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इतेयाज आलम तथा वडा नं. ७ का वडा अध्यक्ष हिराकाजी महर्जनसँग तत्काल हस्तक्षेप गरी सार्वजनिक बाटो खुलाउन माग गरेका थिए।
विवाद बढेपछि महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल तथा वडा अध्यक्ष हिराकाजी महर्जन घटनास्थल पुगेका थिए। तर निरीक्षणपछि पनि सडक कहिलेसम्म सञ्चालनमा आउने, नाला कहिले पुनःनिर्माण हुने वा सहमति उल्लंघन गर्ने पक्षमाथि के कारबाही गरिने भन्ने विषयमा कुनै स्पष्ट निर्णय सार्वजनिक नगरिएको भन्दै स्थानीय असन्तुष्ट छन्।
स्थानीयवासीले सार्वजनिक बाटो कुनै निजी व्यक्तिको स्वामित्वमा रहने विषय नभएको उल्लेख गर्दै निजी निर्माणका नाममा सार्वजनिक सडक र नाला अवरुद्ध हुनु कानुनी शासनमाथिकै चुनौती भएको बताएका छन्। महानगरपालिकाकै रोहबरमा भएको लिखित सहमति कार्यान्वयन गराउन नसक्नुले स्थानीय सरकारको कार्यक्षमता र प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
स्थानीयले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल हटाई सडक र नालालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न, सहमति उल्लंघन गर्ने पक्षमाथि कानुनी कारबाही गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। यद्यपि, समाचार तयार पार्दासम्म निर्माणधनी निरञ्जन चौधरी तथा वीरगञ्ज महानगरपालिकाले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।