एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्ज महानगरपालिकामा विगत तीन दिनदेखि देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गरी नियमित सेवा सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
पछिल्ला तीन दिनदेखि विद्युत् आपूर्ति अनियमित हुँदा वीरगञ्जका सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको थियो । गर्मीका कारण स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो भने खानेपानी आपूर्तिसमेत प्रभावित बनेको थियो ।
समस्या गम्भीर बनेपछि काठमाडौँमा रहेका सांसद पन्तले नेपाल विद्युत् प्राधिकरण तथा वीरगञ्ज महानगरपालिकासँग निरन्तर टेलिफोन सम्पर्कमा रही विद्युत् तथा खानेपानी आपूर्ति सहज बनाउन आवश्यक समन्वय गरिरहेका थिए ।
यसैबिच बिहीबार राती वीरगञ्ज आइपुगेका सांसद पन्तले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण पर्साका प्रमुख विजय महतोसँग छलफल गरेका छन् ।
छलफलका क्रममा उनले विद्युत् आपूर्तिमा देखिएको असहजताप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समस्या समाधान गर्न र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले समस्या उत्पन्न हुनुको कारणबारे समेत प्राधिकरणसँग विस्तृत जानकारी मागेका छन् ।
प्राधिकरणका प्रमुख विजय महतोले वीरगञ्जमा अन्डरग्राउण्ड विद्युत् प्रणाली विस्तारका क्रममा पर्सौनी ग्रिडबाट ३३ केभी लाइन छपकैया सबस्टेसनसम्म लैजाने कार्य गत माघ महिनामै सम्पन्न गर्ने योजना रहे पनि अमर (बोखार) चोक आसपासका केही स्थानीयको अवरोधका कारण काम रोकिएको बताए ।
उनका अनुसार बिहीबार अवरोध हटेपछि त्यहाँ विद्युत् तार तान्ने काम पुनः सुरु गरिएको छ । अब केही प्राविधिक काम मात्र बाँकी रहेकाले शनिबार राति ९ बजेसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
छलफलमा सहभागी पक्षहरूले वीरगञ्जमा विद्युत् सेवा दीर्घकालीन रूपमा भरपर्दो बनाउन आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिने र यस्ता समस्या पुनः दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।