वीरगञ्ज । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन्।
उनले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन्।
उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो।
यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए।
उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु। त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु।’
मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए।