×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। संघीय संसद्अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको कार्यान्वयनमा राज्य कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित सिर्सिया नदी प्रदूषण नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरी पन्तले उद्योगीहरूलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न तथा प्रदूषण नियन्त्रणमा गम्भीर बन्न आग्रह गरे। उनले जनस्वास्थ्य र वातावरणसँग सम्बन्धित विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

पन्तले उठाइएका विषयलाई निष्कर्षमा पुर्‍याउने नीति अपनाइएको उल्लेख गर्दै दण्ड–जरिवाना मात्र समाधान नभई सौहार्दपूर्ण छलफल, समन्वय र सचेतनालाई पनि समान प्राथमिकता दिइने बताए।

उनका अनुसार सिर्सिया नदी प्रदूषण नियन्त्रणलाई टुंगोमा पुर्‍याउने उद्देश्यले प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख, सिर्सिया नदीसँग सम्बन्धित उद्योगी तथा अन्य सरोकारवालाको सहभागितामा परिणाममुखी अन्तरक्रिया सम्पन्न भएको हो। उनले निकट भविष्यमै यसको सकारात्मक परिणाम देखिन थाल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पन्तले पथलैयादेखि लालका पुलसम्म औद्योगिक ढल व्यवस्थापनका लागि ‘औद्योगिक ड्रेन’ निर्माण तथा साझा फोहर पानी प्रशोधन केन्द्र (Common Effluent Treatment Plant) स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार उद्योगहरूले प्रारम्भिक तथा प्राथमिक प्रशोधन आफ्नै उद्योगभित्र गर्नुपर्नेछ भने त्यसपछिको प्रशोधनको जिम्मेवारी राज्यले लिने गरी योजना अघि बढाइएको छ।

उनले विशेषगरी सिमरा क्षेत्रमा बिहानको समयमा हुने वायु प्रदूषण, कोइला तथा भुसको खुला प्रयोग तथा सिर्सिया नदीको अतिक्रमण नियन्त्रणका विषयमा पनि सम्बन्धित निकाय गम्भीर भएर अघि बढ्नुपर्ने बताए।

अन्तरक्रियामा उद्योगी–व्यवसायी, सरकारी निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

Back to top