एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा निषेधाज्ञा तथा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु तथा नौ जना घाइते भएपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगञ्जसहित विभिन्न संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
तर, कर्फ्यु आदेशका बाबजुद सोमबार बिहान करिब हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले टायर बाल्दै विरोध प्रदर्शन गर्नुका साथै कप्तानगञ्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड तथा आगजनी गरेका छन्। उनीहरूले पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गरेपछि आवागमन प्रभावित भएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि बढ्दो भीड नियन्त्रण गर्न कठिनाइ भएपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सुरक्षा निकायको थप उपस्थिति बढाएर प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने प्रयास भइरहेको छ। उनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
प्रशासनले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।