सांकेतिक तस्बिर ।
बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१७, ब्रह्मपुरीस्थित भित्री सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय एक किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।
प्रहरीका अनुसार भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल बिहान करिब ८:२५ बजे आफैं अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मंसुरका करिब १५ वर्षीय छोरा सोयब मंसुर गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार कलैया उपमहानगरपालिका–१७ निवासी साबिर हुसेन अन्सारीका करिब १५ वर्षीय छोरा साहिद अन्सारी भने हातमा चोट लागेर घाइते भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९:०० बजे चिकित्सकले ईसीजी परीक्षणपछि चालक सोयब मंसुरलाई मृत घोषणा गरेका हुन्।
घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुर, बाराबाट प्रहरी निरीक्षक महमद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
मृतक सोयब मंसुरको शव हाल प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।