वीरगंज, श्रावन २४ - वीरगंजमा शुक्रबार बम विष्फोट भएको छ । वीरगंज महानगरपालिका - ४ गणेशमान चौकमा आज साँझ ७ बजेको करिबमा भएको विष्फोटमा परी २ व्यक्ति घाइते समेत भएका छन् ।
विष्फोटमा परी कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगंजको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको वडा नं. ४ का वडा अध्यक्ष जगत शाहले जानकारी दिएका छन् ।
वीरगंजस्थित विर्ता बजारमा भएको बम विष्फोटको जिम्मा भारतको विवेक सिंह नामक व्यक्तिले लिएका छन् । यात्रा डेलीलाई भारतीय नम्बरबाट फोन गरेर आफुलाई विवेक सिंह बताउने व्यक्तिले बम विष्फोट गराएको बताएका छन् ।
सिंहले वीरगंजस्थित कारागारमा आफ्ना साथीभाई कैदीबन्दिहरुलाई चरम यातना दिएकोले बम विष्फोट गराएको बताए । 'वीरगंज कारागारमा मेरा कैदीबन्दि साथिहरुलाई त्यहाका कर्मचारीहरुलाई यातना दिरहेका छ, यस बारे हामीले जिल्ला प्रशासन कार्यालय पर्सालाई पटक-पटक जानकारी गराएका छौं,' सिंहले भने, 'तर हाम्रो अनुरोधलाई व्यवस्था गरेकोले बम विष्फोट गराएका हौँ ।' सिंहले वीरगंज कारागारको अवस्थामा सुधार नआए पुन: बम विष्फोट गराउने धम्कि समेत दिए ।
यता पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने प्रारम्भिक अनुसन्धानले बम नभएर अरु केहि पड्किएको हुनसक्ने बताएका छन् । उनले भने, ‘माल्टा बारुद भनिने पटका पड्किएको देखिएको छ तर थप अनुसन्धान भने चलिरहेको छ ।’
त्यसैगरी जिल्ला प्रशासन कार्यालयका सहयाक जिल्ला प्रमुख नेत्र प्रसाद शर्माले भने आफुलाई वीरगंज कारागारमा हुने यातना सम्बन्धमा आफुलाई केहि जानकारी नभएको बताए । उनले तर प्रमुख जिल्ला अधिकारीको मोबाईलमा भने यो सन्दर्भमा एउटा सन्देश आएको बताए । 'कारागारमा हुने यातनाको सन्दर्भमा मलाई कुनै जानकारी छैन, साहयक प्रमुख शर्माले भने, 'तर प्रमुख जिल्ला अधिकारीको मोबैइलमा भने यस सन्दर्भमा एउटा सन्देश आएको छ, यस बारे मैले माथिल्लो निकायमा समेत जानकारी गराएको छु ।' साहयक प्रमुखले वीरगंज कारागारमा हुने यातनाको बारेमा बुझ्न आफु भोलि त्यहा पुग्ने समेत जानकारी गराए ।