×

वीरगञ्ज । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उद्योग विभाग, त्रिपुरेश्वरबाट हस्तान्तरण भई आएका २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको प्रशासनसम्बन्धी फाइल उद्योग विभाग, वीरगञ्जमा हस्तान्तरण गरेको छ। यससँगै अब यस्ता उद्योगहरूको दर्ता, नवीकरण, संशोधन, नामसारी तथा स्वीकृतिलगायत सम्पूर्ण प्रशासनिक सेवा वीरगञ्जबाटै उपलब्ध हुने भएको छ।

मन्त्रालयले उद्योग विभाग, वीरगञ्जकी निमित्त महानिर्देशक रिमा साहलाई एकमुष्ट १८८ वटा उद्योगका फाइल औपचारिक रूपमा हस्तान्तरण गरेको हो। फाइल हस्तान्तरणसँगै उद्योग प्रशासनसम्बन्धी सेवा विकेन्द्रीकरण भई सेवाग्राहीले अब सामान्य प्रशासनिक कार्यका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले निमित्त महानिर्देशक साहलाई फाइलहरू हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरे, मन्त्रालयका कर्मचारी नविन सिंहलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

निमित्त महानिर्देशक रिमा साहका अनुसार उद्योग विभाग, वीरगञ्जमा फाइल हस्तान्तरण भएसँगै २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको दर्ता, नवीकरण, संशोधन, नामसारी तथा अन्य प्रशासनिक सेवा अब प्रदेश स्तरबाटै प्रभावकारी रूपमा सञ्चालन हुनेछ।

उनले यस व्यवस्थाले उद्योगी–व्यवसायीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै प्रशासनिक प्रक्रिया सरल र सेवाप्रवाहलाई थप चुस्त बनाउने विश्वास व्यक्त गरिन्।

Back to top