वीरगंज ३ भदौ । बाराका एकजना भूमाफियाले पर्साका एकजनाको लाखौंको जग्गा झुक्याएर राजीनामा गराई फरार भएका छन ।
बारा कलैया उपमहानगरपालिका वडा नं १८ का रूपनारायण प्रजापतिले वीरगंज महानगर वडा नं १८ भवानीपुरका नवलकिशोर यादवको ५ कट्ठा १५ धुर जग्गा दृष्टिबन्धक गराउने भनी गत असोज १० गते मालपोत कार्यालय पर्साबाट राजीनामा पास गराई हाल सम्म फरार रहेका पीडित परिवारजनले बताएका छन् ।
यादवको जग्गा साबिक भवानीपुर गाविस वडा नं ६ कित्ता नं ६६२ र ६६३ र बारा नौतन गाविस–५ मा पर्ने १२ धुरको घरसहितको घडेरी असार २७ गते अन्नपूर्ण दैनिकमा कर्जा भुक्तानी दिन आउनु भनी सूचना प्रकाशित भएपछि यस्तो षड्यन्त्रको भेद खुलेको हो ।
नवलकिशोर यादवले भने, “आपूmले रु १६ लाख ऋण लिन जग्गा दृष्टिबन्धक गरेको थिएँ, तर पत्रिकामा प्रकाशित सूचनामा आफनो जग्गा र घडेरी रूपनारायण प्रजापतिले आफनी पत्नी नीता देवीको नाममा पास गराइ एनआइसी एशिया बैंकको कलैया शाखाबाट रु १८ लाख ऋण लिएको थाहा पाएपछि आपूmलाई ठगेको थाहा भएको हो,” उनले भने, “यो कार्यमा मालपोत पर्साका कर्मचारीहरू पनि मिलेका छन, मैले दृष्टिबन्धकको लागि सहीछाप गरेको थिएँ, रूपनारायणले कर्मचारीसँगको मिलेमतोमा जग्गा र घडेरी नै पास गराइसकेको रहेछ ।” ऋणबापत उनले जग्गा पास भएकै दिन रूपनारायणबाट नगद रु ५ लाख तथा रु २ लाख ८२ हजार र रु ३ लाख ४५ हजार गरी जम्मा रु ६ लाख २७ हजारको दुईवटा सिद्धार्थ बैंकको चेक पनि पाएको बताए ।
तर ती चेकहरू हालसम्म साट्न नसकेर बाउन्स गराइ कारबाई गर्ने तयारीमा रहेको पीडित परिवारले बताएको छ ।
यता, सोही जग्गा बैंकमा धितो राखी रूपनारायणले कलैया शाखाबाट रु १८ लाख ऋण लिएर सो ऋणको किस्ता तथा ब्याज नतिरेपछि बैंकको मुख्यालयले कर्जा भुक्तानी गर्न आउनु भनी ३५ दिने सूचना जारी गरेको थियो ।
बैंकबाट ऋण लिन प्रजापतिले नक्कली ब्लुप्रिन्ट खडा गरी गण्डक नहरको विश्वकर्मा सिमेन्टदेखि दक्षिणको जग्गामा किर्ते बाटो बनाएको ट्रेस नक्शा पेश गरेर बैंकसँग उच्च मूल्याङ्कन गराइ ऋण लिएको पीडित परिवारजनले गुनासो गरेको छ । पीडित परिवारजनका अनुसार बैंकले दिएको ऋण दिएको जग्गा अन्यत्र रहेको र बैंकले हचुवाको भरमा ऋण पास गरेको छ ।
एनआइसी एशिया बैंककी कलैया शाखा प्रबन्धक पूजा खेतानले रूपनारायण प्रजापतिको कारोबार चित्तबुझदो नदेखिएकोले आवश्यक कारबाई थालिएको छ र प्रजापतिलाई प्रहरी र बैंकले पिने खोजी कार्य शुरू गरेको बताएकी छन् । प्रजापतिहाल सम्म फरार छन ।
दृष्टिबन्धक भनी जग्गा पास गराइ बैंकसँग ऋण लिएको आरोप लागेका रूपनारायण प्रजापतिसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।