×

वीरगञ्ज - पर्साको पटेर्वा सुगौली गाउँपालिकामा कोरोना सङ्क्रमण नियन्त्रणका निमित्त स्थानियहरुलाई मास्क र साबुन वितरण गरिएको छ ।

विश्वस्तरमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र रोकथामका लागि स्थानीयहरुमा जनचेतना विकास गर्न र पूर्ण सावधानी बारे जानकारी गराउन मास्क र साबुन वितरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतो लगायतले वडा-वडामा पुगेर स्थानियहरुलाई मास्क र साबुन वितरण गर्दै अपनाउनु पर्ने आवश्यक सावधानीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गाउँपालिकाद्वारा आज वडा नं. ४ को फारादवा टोल र वडा नं. ५ को देवारिया टोलमा मास्क र साबुन वितरण गरिएको थियो । भोली देखी गाउँपालिकाले अन्य वडाको घर - घरमा पुगी साबुन र मास्क वितरण गर्ने जनाएको छ ।

'कोरोनाले आज विश्व हजारौंले ज्यान गुमाइसकेका छन्, छिमेकी राष्ट्र भारतमा समेत ६ व्यक्ति मरेको खबर विभिन्न सञ्चामाध्यम बाट हामीले प्राप्त गरेका छौँ', अध्यक्ष चौधरीले भने, ' नेपालमा पनि सतर्कता अपनाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो, त्यसैले साबुन र मास्क वितरण गर्दै छौ ।'

अध्यक्ष चौधरीले सबै स्थानीयलाई अनिवार्य रूपमा नियमित साबुन पानीले हात धुदै मास्क लगाएर सामाजिक दूरी बढाउन आग्रह समेत गरे ।

वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादव, इन्जिनियर प्रदीप चौरसिया, ऊर्जा शाखा अधिकृत निर्मल सिंह, जिन्सी तथा राजस्व शाखाका वीरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

Back to top