बीरगञ्ज । सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति पत्रकार मधेश प्रदेशको समन्वयमा सिमरास्थित क्लासिक प्लाजामा आदिवासी जनजाति सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
तालिम कार्यक्रम आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी, पूर्व प्रदेश सभा सदस्य देव नारायण चौधरी विशिष्ट अतिथि रहेका कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, फोनिजका लक्की चौधरी, दुष्यन्त चौधरीलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, पत्रकारितामा आदिवासी जनजातिको सहभागिता, समावेशी सञ्चार अभ्यास तथा समसामयिक सञ्चार चुनौतीका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।
सहभागीहरूले तालिमले आफ्नो ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको प्रतिक्रिया दिएका थिए। आयोजकले यस्ता तालिमले सञ्चार क्षेत्रमा आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकाससँगै समावेशी र जिम्मेवार पत्रकारिता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।