×

 

वीरगन्ज २० चैत । प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कोरोना संक्रमितलाई उपचार गर्न पर्सा र बाराका विभिन्न अस्पताल तथा जनस्वास्थ्य कार्यालयलाई आवश्यक उपकरण उपलब्ध गराएका छन् । आज (बिहिबार) उनले वीरगन्जको नारायणी अस्पताल र जनस्वास्थ्य कार्यालय पोखरीया र बाराको कलैया अस्पताल र जनस्वास्थ्य कार्यालयलाई कोरोना संक्रमितलाई उपचार गर्न आवश्यक पिपिई लगायतका उपकरण उपलब्ध गराएका हुन् ।

वीरगन्जको नारायणी अस्पताललाई ५० थान पिपिइ कीट, २०० थान ग्लब्स र माक्स र पोखरिया जनस्वास्थ्य कार्यालय लाई २० थान पिपिइ कीट, २०० थान ग्लब्स र माक्स उनले उपलब्ध गराए । त्यसै गरी बाराको कलैया अस्पतालको लागि ३० थान पिपिई किट, ४ सय थान ग्लब्स र १ सय थान माक्स र जनस्वास्थय कार्यालय बारालाई पिपिई कीट २० थान, ग्लब्स एक सय थान र माक्स ५ सय पिस उपलब्ध गराएको बताए ।

कोरोना भाइरसको संक्रमणबाट चिकित्सकसमेत अछुत हुन नसकेकाले यसको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकै अग्रिम मोर्चाको रुपमा खडा भएर काम गरीरहेका छन्, उनले भने, पहिला चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित नै हुनुपर्ने भएकोले उनीहरुको सुरक्षाको लागि आवश्यक पिपिई, ग्लब्स, मास्स, सेनेटाईजर लगायतका उपकरणहरु उपलब्ध गराएको हो । मन्त्री सोनलले अस्पतालमा उपकरण उपलब्ध गराएपछि बिहिबार वीरगन्जको सिद्धार्थ मा.विमा स्थापना गरिएको क्वारेन्टाईनको अवलोक गर्ने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै अहिले अग्रिम मोर्चामा दुई वटा सेक्टर काम गरीरहेको छ, उनले भने, पहिलो मोर्चामा चिकित्सक र चिकित्सकर्मी दोश्रो मोर्चामा सुरक्षाकर्मीहरु रहेका छन । ज्यानजोखिममा राखेर जनताको सुरक्षामा रातदिन खटेका कारण प्रदेश सरकारले तपाईहरुलाई उच्च महत्व र सम्मानका साथ हेरिहेको छ, यसको छुट्टै मुल्यांकन हुने उनले बताए । प्रदेश सरकारले पनि पहिलो चरण अन्र्तगत प्रदेशका ८ जिल्लामा रहेको अस्पताल र जनस्वास्थ्य कार्यालयको लागि पिपिई, ग्लोब्स, मास्क, मेडिकल प्रोटोकलका बुक, प्रचारप्रसार समाग्री उपलब्ध गराएको छ । यसमा चाहिने थप समाग्री पनि मगाएका छौं आउँने वितिकै पुन: उपलब्ध गराउने छौं, उनले भने ।

प्रदेश २ मा कोरोनाको टेस्ट आजदेखि शुरु भएकोसमेत उनले बताए । केन्द्रिय सरकारको सहयोगमा प्रादेशिक अस्पताल जनकुपरमा ल्याब र किट राखेर कोरोनोको टेस्ट आजदेखि संचालनमा ल्याएको छौं उनले भने, तीन जना टेक्नेशियन राखेर सेटप पनि तयार भईसकेको छ अब प्रदेश २ मा नै कोरोना भाइरसको सम्पुर्ण चेकजाँच हुन्छ । प्रदेश सरकारको निति अनुसार दोश्रो चरणमा वीरगन्ज र राजविराजमा ल्याबको स्थापना गर्ने छौं । नागरिकहरुको सहज तरिकारले उपचार गराउनको लागि प्रदेश २ को सम्पुर्ण अस्पतालमा पनि फिबर (ज्वरो) क्लीनिक राख्न निर्देशन समेत दिएको उनले बताएका छन् ।

अहिले महामारीले गर्दा प्रदेशको जनतालाई पनि कष्टकर जीवनको समाना गर्नु परेको छ । खास गरी विपन्न वर्ग जुन दैनिक ज्यालादारी गरेर जिविकापार्जन गर्दै आएका थिए उनीहरुलाई लकडाउनले गर्दा अत्यन्तै प्रभावित बनाएको हुँदा प्रदेश सरकारले राहतको लागि रकम समेत उपलब्ध गराएको छ । मन्त्री सोनलले भने, ‘जनताको पिडा प्रदेश सरकारले बुझिरहेको छ र यसमा सहयोग गर्न पनि हामी तयार रहेका छौं ।’ प्रदेश सरकारले गाउँपालिकाको लागि १० लाख, नगरपालिकाको लागि १५ लाख, उपमहानगरपालिकाको लागि २० लाख र महानगरपालिकाको लागि २५ लाख सानो सहयोग स्वरुप राहतको लागि रकम जम्मा गराएको छ ।

सरकारले अहिले विषेश परिस्थितीको घोषणा गरीसकेको छ, उनले भने, ‘राहत वितरणको लागि पनि कार्यविधि बनाएका छौं प्रत्येक वडाका वडाअध्यक्षको अध्यक्षतामा सम्पुर्ण राजनितिक दल लगायत सर्वपक्षिय समिति बनाएर लक्षित वर्गलाई पहिचान गरेर प्रदेश र स्थानिय सरकारको सहयोगमा राहत उपलब्ध गराउनु पर्छ ।’

अर्को प्रसंगमा उनले कोरोना संक्रमित रहेको र अति जोखिम अवस्थामा रहेका व्यक्तिको पहिचान गरेर क्वारेन्टाईनसम्म पुर्याई सहयोग गर्न स्थानियवासीसँग आग्रह गरेका छन । भारत तथा तेश्रो मुलुकबाट आएका व्यक्तिहरु अमुख र अत्यन्तै जोमिममा रहेका छन, उनीहरुले चेकजाँच गराउँन लाज वा समास्या लुकाएर बसेका छन् त्यस्तालाई बाहिर ल्याउँन वडा अध्यक्ष लगायत स्थानिय चेतनशिल भएर प्रभावकारी भुमिका निर्वाह गर्नुपर्छ होईन भने एक जनालाई संक्रमण लागे पुरै गाउँ वडा, नगर नै प्रभावित हुन सक्छ ।

उनीसंगै प्रदेश २ का प्रदेशसभा सदस्य करिमा वेगम, जिल्ला समन्वय समितिका अध्यक्ष नेकमहमद मियाँ, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, वीरगन्जका मेयर विजय कुमार सरावगी, राजपा नेपालका सह महासचिव निजामुदिन समानी लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Back to top