×

वीरगञ्ज, १२ भदौ । मुटु मानिसको अत्यन्तै संवेदनशिल अंग हो । अहिले पछिल्लो समयमा दीर्घ रोगीका साथै मुटु सम्बन्धी रोगको परीक्षण गराउनेहरुको संख्या पनि बढ्दो छ । अव्यवस्थित जीवनयापन र खानपानकै कारण अहिले कतिपय रोगहरुले मानिसलाई सताउने गरेको छ । शुरुमा केही नहुँदा केही हुँदैन भनेर लापरवाही गर्ने र पछि केही भइसकेपछि पश्चाताप गर्ने हाम्रो स्वभावका कारण पनि कतिपय रोगहरुले आक्रमण गर्छ । 

हृदयघात एउटा मुटु सम्बन्धी रोग हो । तर मुटु सम्बन्धी रोगमा हृदयघात र हार्ट फेल मात्रै पर्छ भन्ने भ्रम पनि पाइन्छ । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको चिकित्सकहरु बताउँछन् । 

मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसँग सम्बन्धी मुटुरोग भनेर ३ भागमा विभाजन गरेको पाइन्छ ।  मुटुलाई स्वस्थ राख्न र मुटु रोगबाट टाढा रहन विभिन्न तत्वहरुले महत्वूर्ण भूमिका खेलीरहेका हुन्छन् ।  तर कतिपय अवस्थामा हामी आफैले नियन्त्रण गर्न सकिने हुन्छ भने कतिपय अवस्था हाम्रो नियन्त्रणभन्दा पनि बाहिर हुन सक्ने नारायणी अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. सरोजरोशन दास बताउँछन् । डा. दासका अनुसार वंशानुगत समस्या हाम्रो काबुभन्दा बाहिर हुन्छ । तर पनि केही परिवर्तन र जोखिमलाई कम गर्न भने सकिन्छ । 

मुटु सम्बन्धी रोगबाट बच्नका लागि डा. दासका सुझावहरु यस प्रकार छन् : 

तनाव नलिने : स्वस्थ मुटु राख्नका लागि तनावमुक्त हुन अति आवश्यक छ । 
तनावकै कारण मुटुसँग सम्बन्धित विभिन्न समस्याहरु उत्पन्न हुन सक्छन् । तनाव सृजना गर्ने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गर्छ । जसका कारण मुटु सम्बन्ध्ी समस्याको जोखिम बढ्न जान्छ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ । 

धुमपान, मद्यपान र लागुऔषधको सेवन नगर्ने : मुटु रोगीलाई धुम्रपान, मद्यपान र लागुऔषधको सेवनले झनै जोखिम निम्त्याउँछ । बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्तिको आयु अन्य भन्दा १० वर्ष कम हुने गरेको देखिएको छ । धुम्रपानसँगै मद्यपान र लागुऔषधको सेवनका कारण मुटु सम्बन्धी रोगका अतिरिक्त स्वाश्सप्रशास, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरु प्नि सृजना हुन सक्छन् । 

चिनीको प्रयोग कम गर्ने : चिनीको अत्यधिक सेवनबाट मधुमेह रोग लाग्छ भनेर सबैलाई अवगत नै भएको कुरा हो । सयुँक्त राज्य अमेरिकामा गरिएको एक पछिल्लो अध्यनअनुसार चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी क्यालोरी खाने मानिसहरु मुटु रोगबाटै मृत्यु हुने ३ गुणा बढी जोखिम हुन्छ । चिनीले तौल पनि वृद्धि गर्छ । तसर्थ अबदेखि र आजैदेखि दैनिक खाने र खानेकुरामा हुने चिनीको मात्रा घटाउन आवश्यक छ । 

मोटोपन कम गर्ने :  मोटोपनले मुटु रोगसँग के सम्बन्ध भन्ने कौतुहलता हुँदै छ होला । तर मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध छ । मोटोपनकै कारण टाइप २ डायबिटिजको खतरा त हुन्छ भने अर्काेतिर मुटु रोगको खतरा पनि बढ्छ । मोटोपनका कारण हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याहरु बढ्ने जोखिम हुन्छ । तोली बढी हुँदा रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्न जान्छ जसका कारण मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने जोखिम बढ्छ । थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति जोखिमपुर्ण हुँदैन । 

रातो मासु नखाने : धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउने अध्ययनले देखाएको छ । हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ ।

नुन कम खाने : अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने कुरा सबैले सुन्दै आएको हो । र यो सत्य पनि हो । जीवनको उत्तराद्र्धतिर मुटुको खतरा पनि बढाउन बढी नुन खानेहरुलाई हुन सक्छ । बयस्कहरुले दिनमा ६ ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ  ।

सक्रीय हुने :  सुस्त र अल्छी हुनाले मटु सम्बन्धी मात्रै हैन अरु पनि रोगहरुले सहजै समात्छन् । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउँदा वा सामान्य गतिविधिमा व्यस्त हुदा मुटु स्वस्थ हुन्छ । व्यायायम लगायतका शारीरिक गतिविधिबाट शरीरलाई सक्रिय राख्न सके निरोगी हुनुका साथै शरीर पनि फुर्तीलो हुन्छ ।

(वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. सरोजरोशन दाससँग गरिएको कुराकानीमा आधारित । उहाँसँग परामर्श लिन ९८५५०३८१०१ मा सम्पर्क गर्नुहोला ।)

Back to top