×

मानिसहरू विशेष गरी महिलाहरू, राति सुत्नुअघि कपालमा तेल लगाउँछन् । यसरी राति कपालमा कपाल लगाउने र भोली पल्ट उठेर नुहाउने गर्दा कपालको वृद्धिलाई बढवा दिने, बलियो बनाउने र कपाल बाक्लो देखिने विश्वास गरिन्छ । तर, यसबारे विज्ञहरूको धारणा फरक छ ।

विज्ञहरू भन्छन् कि रातभर कपालमा तेल लगाएर छाडिराख्दा कपाल लामो हुँदैनन्, बरु उल्टै कपाल झर्ने समस्या सुरु हुन सक्छ । घण्टौँसम्म तेल लगाइरहँदा कपाल जराबाट बढ्छ भनेर मानिसहरू सोच्छन् । तर यो एउटा मिथक मात्रै हो । यसमा कुनै सत्यता छैन । तेलले कन्डिसनरको रूपमा काम गर्ने, कपालको बाहिरी तहलाई बलियो बनाउँछ भनेर विज्ञहरू भन्छन् ।

के हुन्छ रातभर तेल लगाएर छाडिराख्दा ?

रातभर कपालमा तेल लगाइरहनुभयो भने, यसले तपाईंको टाउकोको छालाको प्वालहरूलाई बन्द गरिदिन्छ । जसले गर्दा छालामा फोहोर जम्मा हुन सक्छ । यसले ब्याक्टेरिया र फंगल सङ्क्रमण पनि बढाउँछ ।

कहिले लगाउनु पर्छ तेल ?

विज्ञहरूले कपाल धुनुभन्दा ३० मिनेट अगाडि तेल लगाउन सिफारिस गर्छन् । जरामा धेरै तेल लगाउनु हुन्न । बरु कपालको रेसामा बढी तेल लगाउन उनीहरू भन्छन् ।

तेलले बढाउँछ चायाँ ?

तेल लगाउनाले चायाँ पर्ने सम्भावना बढ्छ । तेल टाउकोमा मालासेजिया फंगसको लागि प्रजनन स्थल बन्छ, जसले गर्दा छालामा चायाँ पर्ने र चिलाउने समस्या बढ्न सक्छ ।

धेरै तैलीय कपाल भएका व्यक्तिहरूले विशेष गरी रातभर तेल लगाउनबाट जोगिनुपर्छ । टाउकोको छालामा बिबिरा छ, चायाँ छ वा छिद्र बन्द छन् भने पनि टाउकोमा तेल लगाउनबाट जोगिनुपर्छ । निधार, घाँटी वा ढाडमा डन्डीफोर भएका व्यक्तिले पनि रातभर आफ्नो टाउकोमा तेल लगाइराख्नबाट जोगिनु पर्छ । 

Back to top