वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा उनीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्।
घटनालाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले सरसफाइ व्यवस्थापनको अवस्थाबारे विशेष निगरानी गरिरहेको जनाइएको छ। उहाँले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई आन्दोलनरत सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगरप्रमुख आलमले नगरवासीले कुनै सास्ती व्यहोर्नु नपरोस् र शहरको नियमित सरसफाइ सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभएको छ।
उहाँले सरोकारवाला पक्षबीच संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
महानगरपालिकाले सरसफाइ कर्मी, ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षबीच सहमति कायम गरी आन्दोलनको छिटो समाधान निकाल्ने र शहरको सरसफाइलाई नियमित बनाउने प्रयास जारी रहेको जनाएको छ।