वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बीपीएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको छ।
कलेज परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको मेहनत, लगनशीलता र उपलब्धिको प्रशंसा गरिएको थियो। साथै उनीहरूको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीहरूको सफलताले सम्पूर्ण कलेज परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षकहरूको मार्गदर्शनमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेज निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, "विद्यार्थीहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र आधुनिक शिक्षण पद्धतिमार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। सबै विद्यार्थीलाई जीवनको हरेक क्षेत्रमा आत्मविश्वासका साथ सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछु।"
कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता तथा शिक्षकहरू दिपेन्द्र कानु, विशेष द्विवेदी, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, आकाश पटेल, दयानन्द बैठा, निर्मल ताम्राकारलगायत सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिर खिचेर गरिएको थियो।
यसैबीच, कलेज प्रशासनले कक्षा ११ को व्यवस्थापन (Management) संकायमा नयाँ भर्ना प्रक्रिया जारी रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।