×

वीरगञ्ज । मधेश विश्वविद्यालयका संकायाध्यक्ष डा. अनञ्जय कुमार मिश्रको नेतृत्वमा सम्पन्न अन्तर्राष्ट्रिय सहकार्ययुक्त अनुसन्धानले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत आपूर्ति शृङ्खला व्यवस्थापनलाई अझ प्रभावकारी, लचिलो र सक्षम बनाउन सकिने निष्कर्ष सार्वजनिक गरेको छ। विश्वस्तरीय अनुसन्धान पत्रिकामा प्रकाशित यस अनुसन्धानले मधेश विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा औद्योगिक क्षेत्रमा नयाँ पहिचान दिलाएको छ।

उक्त अनुसन्धान ‘गुणस्तर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी उन्नत अनुसन्धान पत्रिका’ मा ‘कृत्रिम बुद्धिमत्ता र आपूर्ति शृङ्खलाको लचकता : संस्थागत कार्यसम्पादनमा यसको प्रभाव’ शीर्षकमा प्रकाशित भएको हो। अनुसन्धानमा भारतका एम. वासुकी, ए. दिनेश कुमार तथा अमेरिकास्थित अनुसन्धानकर्ता म्बोनिगाबा सेलेस्टिनले सहलेखकका रूपमा योगदान दिएका छन्।

वि.सं. २०७७ देखि २०८२ सम्म विभिन्न उद्योगबाट सङ्कलन गरिएका तथ्याङ्क, व्यावहारिक परीक्षण तथा वास्तविक समयका सूचनाको गहन विश्लेषणमा आधारित अध्ययनले कृत्रिम बुद्धिमत्ता, डिजिटल पूर्वाधार र संस्थागत कार्यसम्पादनबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा व्याख्या गरेको छ। अध्ययनले आधुनिक कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोगबाट आपूर्ति शृङ्खला व्यवस्थापनलाई थप सुरक्षित, चुस्त र परिणाममुखी बनाउन सकिने देखाएको छ।

अनुसन्धानअनुसार कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वानुमान प्रणाली लागू गरेपछि बजारको माग अनुमान गर्ने शुद्धता ६२ प्रतिशतबाट बढेर ८९ प्रतिशत पुगेको छ। त्यसैगरी, आपूर्तिमा आउन सक्ने अवरोधको पूर्वपहिचान गर्ने क्षमता ४५ प्रतिशतबाट बढेर ६८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस प्रविधिको प्रयोगबाट भण्डारण व्यवस्थापन, गोदाम सञ्चालन, ग्राहक सेवा तथा समग्र डिजिटल पूर्वाधार विकासमा उल्लेखनीय सुधार आएको अध्ययनले देखाएको छ।

अनुसन्धानले उद्योगहरूको आम्दानी वृद्धि, ग्राहक सन्तुष्टि तथा सञ्चालन दक्षतामा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता केवल सैद्धान्तिक अवधारणा नभई औद्योगिक समस्याको व्यावहारिक र प्रभावकारी समाधान भएको पुष्टि गरेको छ।

मधेश विश्वविद्यालयले यस अनुसन्धानलाई आफ्नो अनुसन्धान क्षमताको ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँगको सहकार्य, बहुक्षेत्रीय परीक्षण तथा वैज्ञानिक तथ्यमा आधारित निष्कर्षले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठालाई विश्वमञ्चमा थप उचाइ दिएको विश्वविद्यालयले जनाएको छ।

अनुसन्धानका प्रमुख लेखक डा. अनञ्जय कुमार मिश्र नेपालका प्रतिष्ठित विद्यावारिधिभन्दा उच्च शैक्षिक उपाधिधारक (डी.लिट.) तथा वरिष्ठ वैज्ञानिक हुन्। उहाँको नेतृत्वमा सम्पन्न यस अनुसन्धानले नेपाली विश्वविद्यालयहरूलाई विश्वस्तरीय अनुसन्धानमा सक्रिय सहभागिता जनाउन थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

विज्ञहरूका अनुसार यस अनुसन्धानले उद्योग, नीति निर्माता तथा शैक्षिक संस्थाहरूलाई डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत आपूर्ति शृङ्खला व्यवस्थापनलाई अझ सुरक्षित, प्रभावकारी र दिगो बनाउन स्पष्ट मार्गदर्शन प्रदान गर्नेछ। साथै, विश्वविद्यालय र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अनुसन्धानमा आधारित नवीन सोच र प्रविधिको विकासलाई देशव्यापी रूपमा प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

मधेश विश्वविद्यालयले स्थापनाकालदेखि नै अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई विशेष प्राथमिकता दिँदै आएको छ। डा. मिश्रको नेतृत्वमा हासिल भएको यो अन्तर्राष्ट्रिय सफलता विश्वविद्यालयको शैक्षिक उत्कृष्टता, अनुसन्धान संस्कृति तथा विश्वव्यापी सहकार्य विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ।

Back to top