×

वीरगञ्ज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्षौंदेखि दोहोरिँदै आएको पूँजीगत बजेट खर्चको कमजोर अवस्थाको अन्त्य गर्दै आगामी आर्थिक वर्षदेखि विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा लक्ष्यको ३५ प्रतिशतभन्दा कम मात्र पूँजीगत खर्च भएको स्वीकार गर्नुभयो। उहाँले अहिलेको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्नुपरेकाले खर्चको अवस्था सन्तोषजनक हुन नसकेको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेट भने वर्तमान सरकारको नीति, प्राथमिकता र सुधारका योजनाअनुसार तयार गरिएको छ। त्यसैले अब पूँजीगत खर्चको सुस्त अवस्थाको अन्त्य भई विकास निर्माणका कामले अपेक्षित गति लिने विश्वास व्यक्त गर्नुभयो।

अर्थमन्त्री वाग्लेले पूँजीगत खर्चलाई केवल बजेट खर्च गर्ने माध्यमका रूपमा नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। राज्यले विकास निर्माणमा खर्च बढाएसँगै बजारमा लगानीको प्रवाह बढ्ने, रोजगारीका अवसर सिर्जना हुने र त्यसको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा समेत पर्ने उहाँको भनाइ थियो।

उहाँले नयाँ बजेटमार्फत विभिन्न नीतिगत तथा संरचनागत सुधारका कार्यक्रम अघि सारिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमै त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिन थाल्ने विश्वास व्यक्त गर्नुभयो।

बजेटप्रति उठिरहेका विभिन्न टिप्पणीबारे बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको बजेट व्यावहारिक र जनमुखी रहेको दाबी गर्नुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस व्यवस्थाबाट आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकमाथि कुनै अतिरिक्त भार नपर्ने स्पष्ट पार्नुभयो।

उहाँले नयाँ बजेट पहुँचवालाभन्दा पनि आर्थिक रूपमा पछाडि परेका नागरिकको हितलाई केन्द्रमा राखेर तयार गरिएको बताउँदै यसको वास्तविक प्रभाव बजेट कार्यान्वयनसँगै देखिने विश्वास व्यक्त गर्नुभयो।

Back to top