×

शरीरको एकातर्फ अचानक पोल्ने, चसक्क दुख्ने र केही दिनपछि पानी भरिएका फोका देखिने समस्या आएपछि धेरै मानिसहरू यसलाई किराले टोकेको, माकुरोले डसेको वा माकुरोले पिसाब फेरेको कारण भएको ठान्छन् । हाम्रो समाजमा हर्पिस जोस्टर (शिङ्गल्स) सम्बन्धी यस्ता धेरै भ्रमहरू प्रचलित छन् । यही गलत बुझाइका कारण कतिपय बिरामी समयमै अस्पताल पुग्न नसकी घरेलु उपचारमा अल्झिन्छन् र रोग जटिल बन्न सक्छ ।

हर्पिस जोस्टर के हो?

शिङ्गल्स पनि भनिने हर्पिस जोस्टर भेरिसेला–जोस्टर भाइरसका कारण हुने रोग हो । यही भाइरसले बाल्यकालमा ठेउला (चिकेनपक्स) गराउँछ । ठेउला निको भएपछि पनि भाइरस शरीरबाट पूर्ण रूपमा हट्दैन; यो स्नायुहरूको जरामा निष्क्रिय अवस्थामा लुकेर बस्छ । वर्षौँ वा दशकौँपछि शरीरको प्रतिरक्षा शक्ति कमजोर हुँदा यही भाइरस पुनः सक्रिय भई हर्पिस जोस्टरका रूपमा देखा पर्छ ।

यस रोगमा प्रायः शरीरको एकातर्फ स्नायुको बाटोअनुसार पोल्ने, चिलाउने वा तीव्र दुखाइ सुरु हुन्छ । केही दिनपछि त्यही भागमा रातो दाग र पानी भरिएका फोका देखिन्छन् ।

कसलाई बढी जोखिम हुन्छ?

हर्पिस जोस्टर जो–कोहीलाई पनि हुन सक्छ, तर उमेर बढ्दै जाँदा जोखिम बढ्छ । विशेष गरी ५० वर्षभन्दा माथिका व्यक्तिहरूमा यो बढी देखिन्छ । मधुमेह भएका बिरामी, एचआइभी सङ्क्रमित व्यक्ति, क्यान्सरका बिरामी तथा प्रतिरक्षा शक्ति कम गर्ने औषधि सेवन गर्नेहरूमा पनि यसको सम्भावना बढी हुन्छ । दीर्घकालीन रोगले कमजोर बनेको प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू पनि उच्च जोखिम समूहमा पर्छन् ।

प्रचलित भ्रम र वैज्ञानिक यथार्थ

हर्पिस जोस्टरबारे समाजमा धेरै भ्रमहरू छन् । सबैभन्दा सामान्य धारणा भनेको यो माकुरो वा अन्य किराले टोकेर हुने रोग हो भन्ने हो । तर वैज्ञानिक रूपमा हेर्दा यस रोगको माकुरो, कीरा-फट्याङ्ग्रा वा कुनै विषालु जीवसँग कुनै सम्बन्ध छैन । यो शरीरभित्र पहिलेदेखि रहेको भाइरस पुनः सक्रिय हुँदा हुने रोग हो ।

कतिपयले कुनै किरा शरीरमाथि हिँडेको कारण फोका आएको ठान्छन् । वास्तवमा, हर्पिस जोस्टरमा देखिने फोका स्नायुको मार्गअनुसार एकातर्फ फैलिने भएकाले किराले हिँडेको जस्तो देखिन सक्छ, तर यसको किरासँग कुनै सम्बन्ध हुँदैन ।

ग्रामीण भेगमा फोकाको घेरा शरीरभरि जोडियो भने मृत्यु हुन्छ भन्ने धारणा पनि पाइन्छ । यसको कुनै वैज्ञानिक आधार छैन । रोगको गम्भीरता बिरामीको प्रतिरक्षा शक्ति, प्रभावित भाग र उपचारको समयमै सुरुवातमा निर्भर हुन्छ ।

त्यस्तै, घरेलु लेप, खरानी वा जडीबुटी लगाएर निको हुन्छ भन्ने विश्वास पनि गलत हो । यस्ता उपायहरूले घाउमा सङ्क्रमण बढाउन सक्छ र निको हुन ढिलाइ गराउन सक्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु नै सुरक्षित र प्रभावकारी उपचार हो ।

लक्षणहरू कसरी देखिन्छन्?

हर्पिस जोस्टरका लक्षणहरू प्रायः दुई चरणमा देखिन्छन् । सुरुमा फोका नदेखिँदै प्रभावित भागमा पोल्ने, झमझमाउने, चिलाउने वा चसक्क दुख्ने हुन्छ । केही दिनपछि त्यही भागमा रातो दाग देखा पर्छ र त्यसपछि पानी भरिएका स–साना फोका आउँछन् । कतिपय बिरामीमा ज्वरो आउने, टाउको दुख्ने तथा शरीर कमजोर महसुस हुने लक्षण पनि देखिन्छ ।

समयमै उपचार किन आवश्यक छ?

हर्पिस जोस्टरको उपचार रोग सुरु भएको पहिलो ७२ घण्टाभित्र सुरु गर्न सकेमा धेरै प्रभावकारी हुन्छ । प्रारम्भिक चरणमै एन्टिभाइरल औषधि सुरु गरेमा रोग छिटो निको हुनुका साथै दीर्घकालीन जटिलता कम गर्न सकिन्छ । त्यसैले शरीरको एकातर्फ असामान्य दुखाइ र फोका देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जानु अत्यन्त जरुरी छ ।

सम्भावित जटिलताहरू

धेरैले यसलाई सामान्य छालाको समस्या ठान्छन्, तर हर्पिस जोस्टरले दीर्घकालीन असर पार्न सक्छ । सबैभन्दा सामान्य जटिलता भनेको पोस्टहर्पेटिक न्युराल्जिया हो, जसमा फोका निको भइसकेपछि पनि महिनौँसम्म स्नायु दुखिरहन्छ ।

यदि रोग अनुहार वा आँखाको वरिपरि देखियो भने आँखामा सङ्क्रमण भई दृष्टि कमजोर हुन सक्छ, र गम्भीर अवस्थामा दृष्टि गुम्ने जोखिम पनि रहन्छ । फोकाहरू कोट्याउँदा वा गलत उपचार गर्दा थप सङ्क्रमण भई स्थायी दाग बस्न सक्छ । लामो समयसम्मको दुखाइका कारण बिरामीको दैनिक जीवन, निद्रा र मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्छ ।

रोकथामका उपायहरू

५० वर्षभन्दा माथिका व्यक्तिहरू तथा जोखिम समूहमा पर्नेहरूले चिकित्सकसँग सल्लाह गरी शिङ्गल्सविरुद्धको खोप लगाउन सक्छन् । यसले रोगको जोखिम तथा जटिलता कम गर्न मद्दत गर्छ । साथै मधुमेहजस्ता दीर्घकालीन रोग नियन्त्रणमा राख्नु, स्वस्थ जीवनशैली अपनाउनु र रोगको प्रारम्भिक लक्षण देखिए लगत्तै उपचार सुरु गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

हर्पिस जोस्टर कुनै माकुरो वा किराले टोकेर हुने रोग होइन । यो ठेउला गराउने भाइरस पुनः सक्रिय भएर हुने स्नायु सम्बन्धी सङ्क्रमण हो । रोगबारेका भ्रमहरूका कारण उपचारमा ढिलाइ हुँदा दीर्घकालीन दुखाइ, आँखामा असर तथा अन्य जटिलताहरू हुन सक्छन् ।

त्यसैले शरीरको एकातर्फ पोल्ने, दुख्ने वा फोका आउने समस्या देखिएमा घरेलु उपचारमा नअल्झिई तुरुन्त स्वास्थ्य संस्थामा गई परामर्श लिनुहोस् । समयमै उपचार नै यस रोगबाट सुरक्षित रहने सबैभन्दा प्रभावकारी उपाय हो ।

(लेखक वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चर्म तथा यौन रोग विशेषज्ञ हुन् ।)

Back to top