वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालित स्ट्रेन्थेनिङ एक्सन फर एपिडेमिक रेस्पोन्स (SAFER) कार्यक्रमअन्तर्गत पर्सा जिल्लाका विभिन्न स्थानीय तहका सामाजिक परिचालिका, स्वास्थ्यकर्मी तथा नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक प्राथमिक उपचार (Psychosocial First Aid–PFA) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ।
असार १३ गतेदेखि सुरु भएको तालिममा विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक सहयोग कसरी प्रदान गर्ने भन्ने विषयमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको छ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति वृजकिशोर पटेलको सभापतित्व रहेको थियो। कार्यक्रममा उपसभापति मधु राणा, कोषाध्यक्ष दयाशंकर सिंह तथा कार्यसमिति सदस्यहरू राजेश्वर प्रसाद चौरसिया, जितेन्द्र वर्मा र बाबुनन्द चौरसियालगायतको उपस्थिति रहेको थियो।
असार १३ देखि १५ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण तथा प्रशिक्षण नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रशिक्षक टिकाराज पौडेल र दीपक पोखरेलले गरिरहेका छन्।
तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी तथा प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गर्दै प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका राजन श्रीवास्तवका अनुसार विपद् तथा महामारीका समयमा प्रभावित व्यक्तिहरूलाई समयमै मनोसामाजिक सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको हो।