गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ । गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ ।
यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस्या हुने गर्छ । जसमध्ये आँखा सुख्खा हुने समस्या धेरै मानिसमा हुन्छ । चाहे त्यो खेतमा काम गर्ने किसान होस, फयाक्ट्रीको मजदूर वा अफिसमा काम गर्ने कर्मचारी ।
आँखा सुख्खा हुने समस्यालाई ड्राई आई भनिन्छ । यो समस्या काम-काज गर्ने लगभग सबै मनिसमा प्राय: गर्मीको मौसममा हुने गर्छ । यदि यो समस्या बढ्दै गएमा हरेक काम-काजमा नकारात्मक असर हुन सक्छ । त्यसैले यसको कारण बुझ्नु धेरै महत्वपूर्ण छ । धेरै कारणमध्ये गर्मीको मौसममा देखा पर्ने मुख्य कारण यस प्रकार छन्:
• घामको चर्को प्रकाश
• हावा-हुरी वा धुलो-धुवाँ
• चश्मा नलगाई मोटरसाइकल चलाउनु
• कम्प्युटर/ल्यापटपमा एकोहोरो ढङ्गले लामो समय काम गर्नु
• एसी भएको कोठामा बढी समय बिताउनु
यी कारणहरु प्राय: मानिसले आ-आफ्नो काम-काजमा हरेक दिन सामना गर्नुपर्छ। किनभने यी कुराहरु हाम्रो जीवनको र काम-काजको महत्वपूर्ण हिस्सा भएकोले यसलाई पूर्ण रुपमा हटाउन सम्भव छैन। सबै मानिसहरु आ-आफ्नो काम-काजमा व्यस्त भएको कारण प्रारम्भिक चरणमा सामान्य लक्षणमा ध्यान हुँदैन तर लामो समयसम्म यो समस्या हुँदै जाँदा विभिन्न किसिमका लक्षणहरु हुने सम्भावना हुन्छ । जस्तै:
• आँखा पोल्नु
• आँखा बिझाउनु (आँखाभित्र केही पसेको महसुस हुनु)
• पटक-पटक आँखा माँडिरहनु वा आँखा रातो हुनु
• बत्ती वा घामको उज्यालोमा हेर्न गाह्रो हुनु
• आँखा थाकेको जस्तो महसुस हुनु
• आँखामा अचानक आँसु आउनु इत्यादि ।
यदि यस्तो समस्या लामो समयसम्म भएमा यसको नकारात्मक असर दैनिक काम-काजमा पर्ने देखिन्छ। जस्तै: काममा मन नलाग्नु, काम गर्ने क्षमता घट्नुको साथै मानसिक तनाव र आँखा कमजोर हुने सम्भावना हुने गर्छ । त्यसैले यो समस्यालाई समयमै रोक्न वा कम गर्नलाई विभिन्न किसिमका उपाय अपनाउन सकिन्छ । जस्तै:
• आँखालाई घामबाट बचाउने चश्मा
घर बाहिर कुनै पनि काम गर्न जाँदा आँखालाई घामबाट बचाउने चश्मा लगाउन जरुरी हुन्छ । किनभने यसले घामको किरण सिधा आँखामा पर्न दिँदैन र हावा-हुरीबाट पनि आँखालाई बचाउँछ। मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा चश्मा लगाउनुपर्छ । खेतमा काम गर्ने किसान वा मजदूरले घामको किरण सिधा आँखामा पर्न नदिने किसिमको टोपी लगाउँदा आँखामा घामको जोखिम कम हुने सम्भावना हुन्छ ।
• पानी बढी मात्रामा पिउने
गर्मीको मौसममा शरीरमा पानीको मात्रा कम हुन्छ, जसले गर्दा आँखाका साथै शरीरमा पनि विभिन्न किसिमका समस्या हुन्छ । यसबाट बच्न शरीरलाई चाहिने पर्याप्त (कम्तीमा ३-४ लिटर प्रतिदिन) पानी पिउन जरुरी हुन्छ ।
• स्वस्थ खाना र फलफूल खाने
सबैलाई थाहा भएकै कुरा हो, आँखालाई स्वस्थ राख्न हरियो साग-सब्जी, फलफूल, अण्डा, माछा, बदाम इत्यादि खानुपर्ने हुन्छ। यो कुरा गर्मीको मौसममा बढी ध्यान दिनुपर्ने हुन्छ ।
• आँखालाई नियमित आराम दिने
कम्प्युटर/ल्यापटपमा काम गर्ने व्यक्तिले नियमित रुपमा आँखा झिम्क्याउने वा आँखा चिम्लेर केहीबेर आराम गर्नुपर्छ । जसले आँखामा आँसु बनाउन मद्दत गर्छ र आँखा सुख्खा हुनबाट बचाउँछ। आँखा र शरीरलाई स्वस्थ राख्नको लागि राति राम्रो निद्रा आउन जरुरी भएकोले दिनभरिको तनाव र मोबाइललाई टाढा राखी सुत्ने गर्नुपर्छ ।
• आँखामा आँसुको मात्रा बढाउने
सफा कपडा वा रुमाललाई मनतातो पानीमा भिजाएर आँखा सेक्ने र आँखालाई हल्का मालिस गर्ने। यसले आँखामा आँसुको मात्रा बढाउन मद्दत गर्छ । आँखालाई अनावश्यक रुपमा माँड्नु हुँदैन। पटक-पटक पानीले पखाल्दा आँखा झन्-झन् सुख्खा हुँदै जाने सम्भावना हुन्छ ।
यदि आँखाको समस्या धेरै दिनदेखि छ वा दैनिक काम-काजमा नकारात्मक असर गर्दैछ भने आँखामा आँसुको मात्रा कम हुन नदिन र आँखा सुख्खा हुनबाट बचाउन आफ्नो नजिकैको आँखाको डाक्टरलाई जँचाउनुपर्ने हुन्छ । गर्मी मौसममा यी उपायहरुलाई ध्यानपूर्वक अपनाउनु जरुरी छ। आँखाको साथै आफ्नो शरीरलाई पनि स्वस्थ राखौं र काममा मन लगाएर अगाडि बढौं। स्वस्थ रहौँ, सुखी रहौँ ।
(डा. चौरसिया वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत आँखा रोग विशेषज्ञ हुन् । उनी नारायणी आई केयरमा पनि कार्यरत छन् ।)