वीरगञ्ज, १६ कार्तिक । आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । नारायणी अस्पताल वीरगञ्जमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन् ।
गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन वीरगञ्जस्थित नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दासले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने डा. दासको भनाइ छ । न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुने डा. दास बताँछन् ।
अहिले मध्यतराइको वीरगञ्जसहित देशैभर बिहान बेलुका चिसो र दिउँसो तातो हुने गरेको छ । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयको ज्यान समेत गएकाले विशेषगरी वृद्ध, दम तथा श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने डाक्टर दासको भनाइ छ ।
बढी जोखिममा रहेको समूहलाई मौसम अनुसार लवाइ–खवाइमा ध्यान दिन उनले सुझाव दिएका छ्न् । मौसमी फ्लुका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिएमा परिवारका सदस्यको निगरानीमा छुट्टै बस्न, सङ्क्रमितले मास्कको अनिवार्य प्रयोग गर्न, हाच्छ्युँ गर्दा, खोक्दा मुख छोप्न, भीडभाडमा नजान र अलि गाह्रो महसुस भए अस्पताल जान पनि डाक्टरको सुझाव छ ।